विद्यालय तहमा पुरानै पाठ्यक्रम

काठमाडौं, फागुन २६ । विद्यालय तहको नयाँ पाठ्यक्रम आगामी शैक्षिक सत्रमा एक सय विद्यालयमा परीक्षणका रूपमा लागू गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक लेखनाथ पौडेलले कक्षा १ र ११ को नयाँ पाठ्यक्रम शैक्षिक सत्र २०७७ बाट मात्र लागू गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए ।

केन्द्रले यसअघि आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गराउने जनाएको थियो । केन्द्रका कार्यकारी निर्देशक पौडेलका अनुसार आगामी शैक्षिक सत्रमा सातवटै प्रदेशबाट विद्यालय छनोट गरेरपाठ्यक्रम परीक्षण गरिनेछ । ‘परीक्षणपछि मात्र देशभरका विद्यालयमा नयाँपाठ्यक्रमका आधारमा पठनपाठन सुरु हुन्छ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तह कक्षा १ देखि १२ को राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित गरिसकेको छ । त्यहीअनुरूप चालु शैक्षिक सत्रमा नमुना परीक्षण गरेर २०७६ बाट लागू गर्ने तयारी थियो । निजी विद्यालय सञ्चालकहरूले पाठ्यक्रम रोक्न प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहमा लबिइङ गरेका थिए । कक्षा ११ र १२ मा हाल संकाय प्रणालीअनुसार ५ विषयमात्र पढाइ हुँदै आएको छ ।

नयाँ प्रारूपले संकाय खारेज गरेर ७ वटा विषय कायम गरेको छ । विषय थप गरिएकामा कक्षा ११–१२ (उच्च मावि) सञ्चालकहरू असन्तुष्ट छन् । स्रोतका अनुसार उनीहरूले थपिएको विषय घटाउन दबाब दिइराखेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले भने स्वीकृत प्रारूपबमोजिम कक्षा १–३ को एकीकृत पाठ्यक्रम निर्माण गरिसकेको जनाएको छ । कक्षा ११ र १२ को पनि अधिकांश विषयमा पाठ्यक्रम निर्माण भइसकेको निर्देशक पौडेलले जानकारी दिए । ‘कक्षा ११ मा ३० वटा विषयको पाठ्यक्रम निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘अनिवार्य विषयसहित १५ भन्दा बढी विषयकोफाठ्यक्रम बनिसक्यो, अरू बन्ने त्रममा छ ।’

विश्वविद्यलायका विज्ञहरू, विषय शिक्षक र विशेषज्ञहरूको संलग्नतामा पाठ्यक्रम तयार भइरहेको छ । उनका अनुसार कक्षा १ मा वैशाख र कक्षा ११ मा साउनदेखि परीक्षणका रूपमा पाठ्यक्रम लागू गरिने छ । परीक्षणका क्रममा आएका रायसुझावलाई समेटर आगामी माघदेखि पाठ्यपुस्तक छपाइ थाल्ने तयारी गरिएको हो । समयतालिका बनाएर पाठ्यक्रम कार्यान्वयन गरिने केन्द्रले जनाएको छ ।

कक्षा ११ र १२ मा संकाय प्रणालीको अन्त्यसँगै नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा गरी चार विषय अनिवार्य पढ्नुपर्ने व्यवस्था गरिएको छ । तीनवटा विषय भने ऐच्छिक हुनेछन् । विद्यार्थीले ऐच्छिक विषयहरू साधारण, विज्ञान तथा प्रविधि र प्राविधिक तथा व्यावसायिक धारबाट छनोट गर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!