पाकिस्तानमा सन्दीपलाई यसरी गरियो स्वागत (फोटो)

काठमाडौं, फागुन २५ । पाकिस्तान सुपर लिग (पीएसएल) का लागि पाकिस्तान पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछाने लगायत समग टिमलाई त्यहाँ भव्य स्वागत गरिएको छ । टिमसँगै सन्दीप र उनका म्यानेजर रमन सिवाकोटी पनि कराँची पुगेका छन् । सन्दीप पीएसएलमा लाहोर कलन्दर्सबाट खेलिरहेका छन् ।

पूर्व निर्धारित तालिका अनुसार लाहोरले बाँकी खेल घरेलु मैदानमा खेल्ने बताइएको थियो । तर भारत र पाकिस्तानबीचको तनावका कारण सुरक्षाका कारण अन्तिम समयमा कराँचीमा सारिएको हो । युएईमा २६ खेल खेलेपछि बाँकी खेल खेल्न सहभागि ६ वटै टोली पाकिस्तान गएका छन।

पीएसएलमा बाँकि रहेका सबै खेल कराँचीमा हुनेछन् । यसअघि ६ खेल कराँची र २ खेल लाहोरस्थित गद्दाफी स्टेडियममा हुने भनिएको थियो । लिग चरणमा ४ खेल बाँकी छन्, जसमा सन्दीपको लाहोरले बाँकी रहेका २ खेलमा आज इस्लामावाद युनाइटेडसँग खेल्दैछ। शनिबारको खेलमा नेपाली खेलाडी सन्दीप टिममा पर्ने प्रवल सम्भावना छ ।

८ खेलमा ३ खेलमात्र जितेको लाहोर ६ अंकसहित अंक तालिकाको पाँचौ स्थानमा छ। त्यसैले उसका लागि शनिबारको खेल गर या मरको अवस्थामा रहेको छ । लाहोरले अन्तिम लिग खेलमा सोमबार मुल्तान सुल्तानसँग खेल्नेछ। यदि शनिबार लाहोर पराजित भएमा उसको प्लेअफको सम्भावना लगभग समाप्त हुनेछ । प्रतियोगितामा सन्दीपले १० विकेट लिएका छन् । तस्बिरः सन्दीप आवद्ध लाहोर कलन्दर्सको फेसबुक पेजबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!