गृहमन्त्रीको दाबीः ‘विप्लव समूह कानुनी प्रक्रियाबाट निस्तेज हुन्छ’

सुर्खेत, फागुन २५ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कानुनी प्रक्रियाबाटै निस्तेज पारिने दाबी गरेका छन् ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका उनले यस्तो दाबी गरेका हुन् । गृहमन्त्री थापाले विप्लव समूह खासै ठूलो चुनौती नभएको पनि बताए ।

‘हामीले हिजो उनीहरुका गतिविधिलाई उन्मुक्ति दिँदा हौसला बढेको मात्र हो, यो खासै ठूलो चुनौतीको विषय होइन’ उनले भने, ‘संविधान हातमा लिएर गतिविधि गरे कानुनी प्रक्रियाबाट निष्तेज पारिनेछ।’

लोकतान्त्रिक प्रक्रियाबाट वार्तामार्फत समस्या समाधान गर्न पनि सरकार तयार रहेको उनले बताए। गृहमन्त्री थापाले हिजो माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दाजस्तो युद्धका लागि वस्तुगत आधारसमेत नभएको बताए।

सीके राउतको प्रसंगमा गृहमन्त्री थापाले छुट्टै देशको नारा दिएर अघि बढिरहेको समूहलाई मूलप्रवाहमा ल्याइनुलाई सफलताको रुपमा औंल्याए। यसले देशको शान्ति सुरक्षालाई बलियो बनाउन टेवा पुर्‍याएको उनको भनाइ थियो।

कमेन्ट गर्नुहोस्