ज्ञानेन्द्रले ४ खेल गुमाउने

काठमाडौं, फागुन २३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेशस्तरीय छनोट चरणका ४ खेल खेल्न नपाउने भएका छन् । हालै धनगढीमा सकिएको धनगढी प्रिमियर लिग (डीपीएल) का क्रममा ज्ञानेन्द्रले कप्तानी गरेको काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेलमा उपस्थिति नजनाएपछि प्राविधिक समितिले उनलाई कारवाहीस्वरुप ४ खेल निलम्बन गरेपछि प्रदेशस्तरीय छनोट चरणका ४ खेल खेल्न नपाउने भएका हुन् ।

काठमाडौंले सेमिफाइनल यात्रा तय गरेमा भने उनले फाइनल अथवा तेस्रो स्थानको खेल खेल्न पाउनेछन् । यसै महिना सम्पन्न आईसीसीको नियमअनुसार कुनैपनि टोलीले खेलमा सहभागी हुन नकारेको खण्डमा विपक्षी टोलीलाई विजयी घोषित गरिने र प्राविधिक समितिले कारवाही गर्ने प्रावधान रहेको छ । त्यसैअनुसार मल्ललाई कारवाही गरिएको अम्पायर बुद्धिबहादुर प्रधानले जानकारी दिए ।

‘ज्ञानेन्द्रलाई काठमाडौं गोल्डेन्सको कप्तानको हैसियतले ४ खेलको प्रतिबन्ध गर्ने निर्णय गरेका हौं । टोलीको जिम्मेवारी कप्तानले सम्हालेका कारण नियमअनुसार नै उनलाई कारवाही गरिएको हो । यससँगै उनले घरेलु टि–२० मा ४ खेल खेल्न पाउने छैनन् । प्रशिक्षक र व्यवस्थापकको हकमा पनि हामी भविष्यमा कारवाही गर्नेछौं,’ उनले भने ।

डीपीएलको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सले प्राविधिक समितिले आफ्ना भारतीय खेलाडीलाई बलिङ गर्न प्रतिबन्ध लगाएपछि खेल बहिष्कार गरेको थियो । उक्त निर्णयको विरोधमा टोलीले खेलमा उपस्थिति जनाएन । यससँगै प्राविधिक समितले महेन्द्रनगर युनाइटेडलाई विजयी घोषित गरेको थियो । ज्ञानेन्द्रले ४ खेलको प्रतिबन्ध भोगेसँगै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश–३ स्तरीय छनोटका ४ खेल गुमाउने भएका छन् । उनले शुक्रबार छनोट अन्तर्गत काठमाडौंबाट खेल्ने तयारीमा रहेका थिए ।

प्रतिबन्धसँगै उनले छनोटका केहि खेल गुमाउने हाम्रो खेलकुदलाई बताए । काठमाडौंले प्रदेश ३ छनोटको पहिलो खेलमा शुक्रबार नुवाकोटको सामना गर्दैछ । समूह चरणमा काठमाडौंले शनिबार चितवन र आइतबार भक्तपुरको सामना गर्दैछ । प्रतियोगिताको सेमिफाइनल खेलहरु सोमबार र फाइनल तथा तेस्रो मंगलबार हुने तालिका रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!