३० प्रकारका औषधिको आयात रोक्ने सरकारी निर्णय अलपत्र

काठमाडौ, फागुन २३ । स्वदेशी उत्पादनलाई प्रोत्साहनका दिन दुई वर्षअघि सरकारले ३० वटा औषधिको आयात रोक्ने जनाएको थियो । तर त्यो निर्णय हालसम्म पनि लागू हुन सकेको छैन । हुन त सरकारले पर्याप्त मात्रामा औषधि उत्पादन गर्न कच्चा पदार्थ मात्रै ल्याउने विषयमा जोड दिँदै आएको छ ।

सरकारले जुकाको औषधि अल्बेन्डाजोल, एन्टिबायोटिक्समा एमोक्सिसिलिन र एजिथ्रोमाइसिन, पखाला लाग्दा रोकथामका लागि खाने एन्टिब्याक्टेरियल मेट्रोनिडाजोल, ग्यास्ट्रिक तथा ढ्याउढ्याउ आउँदा खाने एन्टासिड, ग्यास्ट्रिककै औषधि ओमेप्राजोल, प्यान्टाप्राजोल, र्यानिटिडिनको आयात रोक्ने निर्णय गरेको थियो ।

यस्तै, भिटामिनहरूमा प्यारासिटामोल, खोकीको औषधि, खाना पचाउने इन्जाइम, जीवनजल, दुखाइ कम गर्ने इबुप्रोफिन, एन्टिएलर्जिक औषधि सिट्रिजिन यस्तै दुखाइ नै कम गर्ने इन्डोमेथासिन, डिक्लोफिन्याक, निमेसुलाइड, ट्रामाडोल, एन्टिब्याक्टेरियल टिनिडाजोलको पनि आयात रोक्न आवश्यक रहेको औषधि व्यवस्था विभागले सूची तयार पारेको थियो ।

ट्रिमेथ्रोपिम, क्याल्सियम, छालामा समस्या देखापर्दा लगाउने कालामाइन लोसन, घाउमा लगाउने जेन्टिओन भाइलेट, खाना रुचाउने तथा एन्टिएलर्जिक औषधि साइप्रोहेप्टाडिन र पाँच प्रकारका भेटेरिनरी औषधिहरूको समेत आयात रोक्नुपर्ने विभागको सूचीमा उल्लेख छ । यी ३० वटा औषधि रोक्ने हो भने नेपाली उत्पादनले ८ देखि ९ अर्बको बजार पाउने यस क्षेत्रका जानकारहरुको भनाई छ।

भारतमा ७ देखि १५ दिनको बीचमा कच्चा पदार्थ भण्डारण गरिन्छ । तर नेपालमा भने कम्तीमा पनि ३ महिनादेखि १२ महिना अर्थात एक वर्षका लागि कच्चा पदार्थ भण्डारण गर्नुपर्ने बाध्यता छ । आधारभूत संरक्षण अर्थात आत्मनिर्भर भइसकेको औषधिको कच्चा पदार्थ मात्रै ल्याउने हो भने नेपाल धेरै औषधिमा आत्मनिर्भर भईसकेको औषधि अत्पादक संघले जनाएको छ ।

हुन त औषधि उत्पादक संघले दिएको जानकारीलाई मान्ने हो भने नेपाल सयभन्दा बढी औषधिमा आत्मनिर्भर भइसकेको छ । तर सरकारले भने नेपालमा पर्याप्त मात्रामा उत्पादन हुँदै आइरहेका ३० प्रकारका औषधिको आयात रोक्दै स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्ने निर्णय गरेको लामो समय भईसकेपनि हालसम्म ३० प्रकारका औषधिको आयात रोक्ने हुन सकेको छैन् । व्यवसायीहरुले भने सरकारले उक्त निर्णय छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

औषधि खपतका हिसाबले नेपाल करिब ४५ अर्बको बजार हो । २५ अर्ब आयातित औषधिको बजार रहेको छ । २० अर्ब स्वदेशी उत्पादनको बजार रहेको छ । यो ३० प्रकारका औषधि आयातमा रोक लगाउने र कच्चा पदार्थ मात्रै ल्याउने हो भने नेपाली औषधिले ८ देखि ९ अर्ब बराबरको बजार पाउने व्यवसायीहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!