विश्व अर्बपति सूचीमा विनोद चौधरीको छलाङ, बढ्यो २२ अर्ब ६५ करोड

काठमाडौं, फागुन २२ । विश्वका २१ सय ५३ डलर अर्बपतिमध्ये नेपालका विनोद चौधरीले पनि छलाङ मारेका छन्।

चौधरीले गत वर्षभन्दा २१४ स्थान माथि उक्लिने क्रममा २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थपेको फोर्ब्सले जनाएको छ । आजको डलर विनिमयअनुसार चौधरीको सम्पत्ति २२ अर्ब ६५ करोड रुपैयाँ बढेको हो ।

नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्ति २०१९ मा बढेको फोब्र्सले जनाएको छ। फोब्र्सले जारी गरेको विश्वका अर्बपतिहरुको सूचीमा चौधरी १३४९औँ स्थानमा पर्न सफल भएका हुन् । फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् झण्डै १ खर्ब ९२ करोड नेपाली रुपैयाँ रहेको छ ।

चौधरी सीजी कर्प ग्लोबलका प्रमुख हुन् भने नेपालमा नबिल बैंकमा समेत उनको स्वामित्व रहेको छ ।

त्यस्तै चौधरी ग्रुपमार्फत समेत विनोद चौधरीले खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालन गरेका छन् भने विद्युतीय व्यापार र होटल क्षेत्रमा समेत चौधरीको उल्लेख्य लगानी रहेको छ । चौधरीको सीजी फुडअन्तर्गत वाइवाइ चाउचाउ उत्पादन हुने गरेको छ, जुन भारत, सर्विया, बंगलादेश र साउदी अरेबियाबाट समेत उत्पादन हुन्छ ।

फोब्र्सका अनुसार चौधरीको होटलतर्फ २९ वटामा लगानी स्वामित्व र ७० वटामा व्यवस्थापकीय सम्पत्ति समेत रहेको छ, जुन इन्डियाको प्रसिद्ध ताज होटलको चेन होटलका रुपमा सञ्चालनमा रहेका छन् । उनका छोराहरुमध्ये निर्वाणले नेपालमा र वरुण र राहुलले नेपालबाहिर चौधरीलाई व्यवसायमा सघाउँदै आएका छन् ।

सन् २०१८ को मार्चमा चौधरीको सम्पत्ति १५ सय ६३औं स्थानमा रहेका चौधरीले १ वर्षको अन्तरालमा २० करोड डलर सम्पत्ति थप्दै १३४९औं स्थानमा छलाङ मार्न सफल भएका हुन् । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्