नेकपाका नेता तथा पूर्वसांसद पण्डितको निधन

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलबार निधन भएको छ । हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए ।

विसं २०४८ को निर्वाचनमा उनी नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित भएका थिए। विसं २०५६ को निर्वाचनमा उनी नुवाकोटबाट तत्कालीन नेकपा (माले) बाट उम्मेदवार बनेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए । त्यसपछि उनी झण्डै आठ महिना प्रहरी हिरासतमा रहेका थिए । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यमा समेत उनी नुवाकोटबाट उम्मेवार बनेका थिए । काठमाडौको बसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती रहनुहुन्छ । पछिल्लो समय उनी पार्टीमा निष्क्रिय रहेका थिए ।

कमेन्ट गर्नुहोस्