भारतमा भाइरल भएको जुँगा, रातारात ‘खलनायक’को जुँगा कसरी बन्यो ‘नायक’को?

अभिनन्दन वर्तमान पाकिस्तानको कब्जामा रहेको समाचार सार्वजनिक भएपछि भारतभरि रातारात प्रसिद्ध भए ।

झन् पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आदेशमा उनलाई पक्राउ परेको ७२ घण्टा नबित्दै भारतलाई सुम्पिदिएपछि त भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरूले उनलाई ‘राष्ट्र नायक’ नै बनाएका छन् ।

पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमान चालक वर्तमान पक्राउ परेको केही घण्टामै देशभरि नायकका रूपमा छाए ।

उनको रिहाइपूर्व सामाजिक संजालमा उनी पक्राउ पर्दाको र पक्राउपरेपछिका केही भिडियो सार्वजनिक भएका थिए ।

एउटा भिडियोमा स्थानीयहरूले उनीमाथि हातपात गर्न लागिरहेको अवस्थामा पाकिस्तानी सेनाले उनको उद्वार गरेको दृश्य थियो । त्यसमा उनी केही हताश देखिन्थे भने त्यसपछि सार्वजनिक भएको अर्को भिडियोमा उनले चिया पिउँदै पाकिस्तानी अधिकारीहरूका प्रश्नहरूको उत्तर दिइरहेका थिए ।

उनले सैनिक जानकारीसम्बद्ध प्रश्नहरूको उत्तर ‘माफ गर्नु होला, यस प्रश्नको उत्तर म दिन सक्दैन’ भन्दै फर्काएको देख्न सकिन्थ्यो ।

यसपछि सामाजिक संजाल प्रयोगकर्ता र भारतीय मिडियाले अभिनन्दनको यसरी महिमामण्डन गरे कि उनी सामाजिक संजालमा ‘सेलिब्रिटी’ बनेका छन् ।

अहिले भारतमा अभिनन्दन मात्रै होइन भिन्न प्रकृतिको देखिने उनको दाह्री-जुङ्गाको चर्चा समेत त्योभन्दा कम छैन। धेरै भारतीयले त्यस्तै नक्कल गरेका छन्।

शुक्रवार साँझ स्वदेश फर्कँदा उनलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तामझामपूर्ण स्वागत गरिएको थियो।

उनी सामाजिक सञ्जालहरूमा यतिधेरै चर्चित भए कि धेरै भारतीयले उनको जस्तो दाह्री-जुङ्गा हुनुलाई साहसको प्रतीकका रूपमा लिन थाले।

जुँगाको शैली भाइरल

दूग्ध ब्राण्ड ‘अमुल’ले समेत उनको दाह्री-जुङ्गाको प्रसिद्धि जोडिने विज्ञापन भिडिओ सार्वजनिक गर्‍यो।

उक्त ब्राण्ड सामाजिक सञ्जालहरूमा प्रसिद्धि बटुलिरहेका शैली र विषय समातेर विज्ञापन बनाउने शैलीका लागि प्रसिद्ध छ।

तर ह्यान्डलबार भनिने यो घुमाउरो शैलीको जुङ्गा भारतमा असामान्य मानिँदैन।

तिनमा धेरैले बलिउडका खलनायक पात्र, अभिमानी सेना वा प्रहरी एवम् कुख्यात तस्करको झल्को देख्थे।

कुनै समय प्रख्यात चन्दन तस्कर विरप्पन यस्तै जुँगा राख्ने गर्थे।

कुनै समय डाकुहरूको स्वर्ग भनेर चिनिने चम्बल उपत्यकाका धेरै डाकुहरूको जुँगाको शैली समेत यही हुने गर्दथ्यो ।

झन् ६० र ७० को दशकमा बलिउडमा डाकुहरू कथामा चलचित्र बन्न थालेपछि त यस शैलीको जुँगासँग नकारात्मक अर्थ जोडिन थाल्यो ।

हालैका दशकमा बलिउड चलचित्रमा नायकहरू पनि यसै शैलीको जुँगामा देखिए पनि तीमध्ये धेरै पहिले नकारात्मक भएर पछिमात्र परिवर्तन भएका थिए । हालै प्रदर्शित चलचित्र सिम्बामा रणवीर सिंह यसै शैलीमा देखा परे ।

त्यस्तै अर्को उदाहरणको रूपमा ‘ठग्स अफ हिन्दोस्तान’मा फिरंगी मल्लाहको भूमिकामा देखिएका आमिर खानको जुँगाको शैली समेत यस्तै थियो फिरंगी मल्लाहको ।

यी दुवै चलचित्रमा चित्रित पात्रहरू सुरुदेखि नै साधुसन्त थिएनन् । दुवै पात्रहरू सुरुमा स्वार्थी र बेइमान हुन्छन् जसलाई पछि परिस्थितिले बदलिदिन्छ ।

तर अभिनन्दन वर्तमानको प्रकरणपछि धेरैजसो नकारात्मक अर्थमा अल्झेको जुँगाको यो शैलीको समेत पछिल्ला केही दिनमा उद्वार भयो जब यो साहस र देशप्रेमको पर्यायवाचीको रूपमा देखिन थाल्यो।

आइकन अभिनन्दन

कतिसम्म भयो भने दक्षिण भारतको एउटा शहर बैङ्लोरको एउटा कपाल काट्ने पसलले अभिनन्दन वर्तमानको जस्तो कपाल र दाह्री-जुङ्गा बनाउन चाहनेलाई गत सोमवार पैसा नै लिएन।

ती पसलका मालिका ननेश ठाकुरले बीबीसीलाई भने, “अभिनन्दनले हाम्रो देशको लागि निकै धेरै गरेका छन्। मलाई लाग्यो मैले थुप्रै मुहारहरूलाई उनको जस्तै बनाउने प्रयास गर्नुपर्छ।”

उनको उत्साह भने सोचेजस्तो रहेन- अथवा भनौं उनले नसोचेको आराम पाए- जब उनीसामु आउने तिनजना मात्र अभिनन्दनको जस्तो दाह्री-जुङ्गा बनाउन योग्य ठहरिए।

त्यस्तै शैली बनाउन सफल एकजना एम्बुलेन्स चालक नविन कुमारले भने, “उनी साँच्चिकै नायक हुन्। त्यसैले मैले पनि त्यस्तै बनाउन चाहेँ।”

धेरै लामो दाह्री-जुङ्गा नहुँदा अभिनन्दनको जस्तै देखिन नसकेकाहरूको मोह चाहिँ सेनाहरूको आम जुङ्गाशैली पछ्याउन खोजेका देखिन्थे।

र थुप्रैले त्यस्ता तस्बिरहरू सामाजिक सञ्जालमा राखेर अभिनन्दनबाट आफू प्रभावित भएको बताएका थिए।

चमत्कारिक प्रसिद्धि

यति धेरै प्रसिद्धि बटुलेका अभिनन्दनललाई अधिकांश भारतीयले पहिलोपटक भने २७ फेब्रुअरीमा मात्र देखेका थिए।

जतिखेर पाकिस्तानको सूचना मन्त्रालयले रगताम्मे देखिने उनको भिडिओ पहिलोपटक ट्वीट गरेर पछि हटाएको थियो।

दोस्रो भिडिओमा चाहिँ उनी चियाको चुस्की लिइरहेका थिए।

उनको आँखामा पट्टी पनि थिएन र उनको मुहारमा त्यसअघि देखिएको रगत समेत पुछिएको थियो।

आफ्नो नाम, दर्जा र आफू दक्षिण भारतको भएको बताएका उनले पाकिस्तानपट्टि छिर्नुको उद्देश्य सोधिँदा भने ‘आफूले त्यो बताउन नसक्ने’ भनेका थिए।

उनको त्यस गुणलाई ‘साहस’ र ‘स्थिर स्वभाव’ भन्दै धेरै भारतीयहरूले प्रशंसा गरेका थिए।

र ट्वीटर तथा फेसबुकमा उनलाई फिर्ता ल्याउनुपर्ने प्रार्थना र दबावमिश्रित अभियान नै चलेको थियो।

शुक्रवार दुवै देशका पञ्जाब प्रान्त जोडिने वागा बोर्डरमा भारतीय अधिकारीले अभिनन्दनलाई स्वागत गरिरहँदा राजधानी दिल्लीमा आतसबाजी गरिएको थियो।

त्यहीँ सीमाको भारततर्फ भारतीय झण्डा र उनको तस्बिर बोकेर घण्टौँ कुरेका मानिसहरूले उनलाई राष्ट्र नायक भन्दै स्वागत गरेका थिए। बिबिसी

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!