श्रद्धाञ्जलि सभाको तयारी

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टीका नेता भरतमोहन अधिकारी र हेलिकोप्टर दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारीलगायत अन्यको सम्झनामा आयोजना गरिने श्रद्धाञ्जली सभाको तयारीमा पार्टी जुटेको छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा सोमवार बसेको कार्यालय बैठकले यही फागुन २३ गते हुने श्रद्धाञ्जलि सभा सफल पार्न सम्पूर्ण जनवर्गीय संगठन र सुभेच्छुक सङ्गठनलाई निर्देशन दिएको छ ।

पार्टी कार्यालयका सचिव एवं केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार महासचिव विष्णु पौडेलको उपस्थितिमा बसेको बैठकले यही फागुन २३ गतेको श्रद्धाञ्जलि सभा सफल पार्न आआफ्नो ठाउँबाट त्यसको तयारीमा जुट्न निर्देशन दिएको हो । भृकुटीमण्डपमा दिउँसो १ बजे हुने श्रद्धाञ्जलि सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम तय भएको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रदेश ३ र खासगरी उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै कार्यक्रम तयारीको जिम्मेवारी पार्टीका मजदुर सङ्गठनलाई दिइएको छ । मञ्च बनाउनेदेखि लिएर स्वयम्सेवक लगायत अन्य सबै व्यवस्थापनको जिम्मेवारी मजदुर सङ्गठनलाई दिइएको श्रेष्ठले जानकारी दिए ।

‘पार्टीका दुई प्रमुख नेताले बोल्ने कार्यक्रम तय भएको छ’, उनले थपे, ‘सो कार्यक्रममा पार्टी र सरकारको भावी कार्यदिशा, वर्तमान अवस्थाको बारेमा पनि अध्यक्षद्वयले आफ्नो धारणा राखेर नेता तथा कार्यकर्तालाई निर्देशन दिनुहुने छ ।’

ताप्लेजुङको तीर्थस्थल पाथिभरा दर्शन गरी तेह्रथुमको आठराइमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जाने क्रममा हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो । निधनपछि नेकपा सचिवालय बैठकले अधिकारीको सम्झनामा श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको थियो ।

त्यसको ४ दिनपछि नेकपाका नेता भारतमोहन अधिकारीको पनि निधन भयो । अस्पतालमा उचारार्थ भर्ना भएका अधिकारीको निधनपछि आइतबार बसेको सचिवालय बैठकले दिवंगत दुवै जनाको सम्झनामा एकैदिन फागुन २३ गते नै श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको थियो । त्यसैअनुरुप तयारी थालिएको जानकारी दिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!