पाकिस्तान-भारत रेल सेवा फेरि सुरु

काठमाडौं, फागुन २० । भारत र पाकिस्तानबीच सिर्जना भएको तनावका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरि सुरु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो ।

‘सम्झौता एक्सप्रेसको रेल स्थानीय समय अनुसार सोमबार बिहान ११ः३० बजे अत्तारी रेल स्टेशन पुगेको थियो, एक जना भारतीय अधिकारीले बताए । पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको त्यस रेलमा १५० जना यात्रु रहेको सोमबार जनाएका छन् ।

भारत प्रशासित कश्मीरको पुलवामामा फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवा अवरुद्ध भएको थियो । सामान्यतया सोमबार र बिहीबार दुई देशबीचमा रेल सेवा सञ्चालन हुँदै आएको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले गएको फेब्रुअरी २८ मा दुईदेशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो । तर भारतको राजधानी नयाँदिल्लीदेखि पाकिस्तानको पञ्जाब प्रदेशको राजधानी लाहोरसम्मको अन्तरदेशीय बस सेवा भने रोकिएको थिएन । रासस

कमेन्ट गर्नुहोस्