जापानद्वारा नेपालसँग भाषा परीक्षाको कोर्स माग

काठमाडौं, फागुन २० । नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो ।

जापानले पठाएको समझदारीको मस्यौदामा जापानले भाषा परीक्षाको चौंथो तहसम्म पास हुनेलाई कामदारका रुपमा लैजाने उल्लेख छ । हाल जापान पढ्न जाने विद्यार्थीले ५ औं तहको परीक्षा पास गर्छन् । जापानमा रोजगराी खुल्ने भएपछि भाषा केन्द्रहरुमा अहिलदेखि नै ठगी मौलाएको छ । त्यसैलाई ध्यानमा राखेर नेपालले जापानलाई कोर्स स्पष्ट गर्न आग्रह गरेको हो ।

हाल नेपाल र जापान सरकारले कामदार लैजानेबारे श्रम समझदारीका लागि मस्यौदा आदान(प्रदान भइरहेको छ । जसमा जापानले आफ्ना चासोका विषय राखेर प्रस्ताव गरेको छ भने नेपालले पनि कामदारको हितलाई केन्द्रमा राखेर विभिन्न व्यवस्थाहरु गर्न प्रस्ताव गरेको छ ।

हाल दुबै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, लागत लगायतका विषयमा ‘नेगोसियसन’मा छन् । श्रम मन्त्रालयका एक अअधिकारीका अनुसार मार्च महिनाभित्रै समझदारी गर्ने गरी दुईपक्षीय छलफल चलिरहेको छ ।

दुई देशबीच सरकारी संयन्त्रमार्फत नै कामदार जान पठाउने सहमति भइसकेको छ । गत जनवरीमा काठमाडौंमा भएको नेपाल-जापान संयुक्त प्राविधिक समितिको बैठकमा नेपालले गरेको प्रस्तावमाथि जापानले सहमति जनाएको हो । अनलाइन खबरबाट साभार

कमेन्ट गर्नुहोस्