राणाकालमा कसरी मनाइन्थ्यो शिवरात्री?

काठमाडौं, फागुन २० । महाशिवरात्री पर्व सोमबार भगवान् शिवको स्तुति गर्दै पशुपतिनाथलगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ । देश तथा विदेशबाट श्रद्धालु तथा साधुसन्त यो मेला भर्न आउने इतिहासदेखिकै परम्परा छ । त्यसक्रममा पशुपतिनाथमा लाग्ने मेला भने विशिष्ट र अन्तर्राष्ट्रिय मेला नै हो । भारतमा पनि कुम्भमेला लगायतका धार्मिक पर्वलाई पर्यटक तान्नेदेखि देशको प्रतिष्ठासँग जोडेर मनाइने गरे पनि नेपालमा महाशिवरात्रीलाई पर्यटक प्रवद्र्धनका रूपमा अझै व्यवस्थित गर्न बाँकी नै रहेको छ ।

विसं २००७ अघि पनि निकै महत्वका साथ शिवरात्री मनाइन्थ्यो । त्यसबेला धार्मिक विश्वास कारण पशुपति आउने साधु सन्तलाई श्रद्धापूर्वक निमन्त्रणा गरिन्थ्यो । उनीहरूको आगमनलाई व्यबस्थित गर्न वीरगन्जदेखि काठमाडौसम्म आउन लाग्ने लरी भाडाका साथै खाने बस्न लाग्ने खर्च लगायतका बारेमा गोरखापत्रमा त्यस बेला सूचना प्रकाशित हुने गरेको थियो ।

विसं १९९० सालको महाभूकम्पका कारण सरकारले त्यस वर्ष साधुसन्तलाई सत्कार गर्न असुविधा पुग्ने भन्दै शिवरात्रीमा आउने कष्ट नगर्न सूचना नै निकालेको थियो । शिवरात्रीमा आउने साधुलाई नेपाल बसाइका क्रममा खाने बस्ने सुविधा सहित विदा हुने बखत तह र पदवी अनुसार बाघ, मृग आदिको छाला जस्ता आखेटउपहार र दक्षिणा दिएर विदा गर्ने चलन थियो । त्यसो त अहिले आखेटोउपहारको साटो घण्ट, चमर, कमन्डलु, राडीपाखी, पिताम्वर, जटायुक्त नरिवल, त्रिशुल, शङ्ख, डमरु आदि गरी ऐतिहासिक निरन्तरता दिइएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!