जनार्दन शर्मा भन्छन्, ‘सिंहदबारमा स्थानीय तहलाई कमजोर पार्ने नियत देखियो’

काठमाडौं, फागुन १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारमाथि नियतवश संघीयता कार्यान्वयन गर्न नखोजेको गुनासो गरेका छन् ।

संविधानमा व्यवस्था गरिएको प्रदेश र स्थानीय तहको अधिकार कटौती गर्ने गरी ऐन–कानून तर्जुमा गर्ने काम भइरहेको भन्दै उनले असन्तोष पोखे । गाउँपालिका राष्ट्रिय महासंघको कार्यक्रममा पूर्वमन्त्री शर्माले भने, ‘संविधानअनुसार ऐन–कानून बनाउनुपर्नेमा सिंहदबारबाट तल जानु पर्ने अधिकार गएन, यस्तो केन्द्रीकृत सोचले फाइदा गर्दैन ।’

संघीय सरकारले बनाईदिनुपर्ने धेरै ऐन, कानून, कार्यविधिमा नियतवस अधिकार केन्द्रीकृत गर्न खोजिएको उनको भनाइ छ । अहिले संघीयता कार्यान्वयन गर्ने र नगर्न चाहने पक्षबीच संघर्ष चलिरहेको भन्दै उनले संविधान अनुसार अधिकार नदिए संघीयता कार्यान्वयन नहुने र मुलुक फेरि द्वन्द्वतर्फ जाने चेतावनी दिए । स्थानीय तहका जनप्रतिनिधिले पनि पाएको अधिकारको दुरुपयोग नगर्न सचेत गराउँदै शर्माले जोडर चलाउन छाडेर शिक्षा र स्वास्थ्यमा जोड दिन सुझाव दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!