भारतीय पाइलटलाई हस्तान्तरण गर्दै पाकिस्तान, किन चुनियो वाघा सीमा नै?

काठमाडौँ, फागुन १७ । पाकिस्तानले भारतीय लडाकू विमानका पाइलट अभिनन्दन वर्धमानलाई आज रिहा गर्ने भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘शान्तिको पहल’को रूपमा आफ्नो नियन्त्रणमा रहेका विमानचालकलाई रिहा गर्ने आदेश दिएका हुन् ।

पाइलट अभिनन्दनलाई पन्जाबको बाघा बोर्डर सीमामा भारतीय अधिकारीहरूलाई हस्तान्तरित गरिने भएको छ । बिहिबार इमरान खानले उनलाई रिहा गर्ने बताएका थिए ।

किन चुनियो बाघा बोर्डर नै ?

वाघा गाउँ भारतीय पन्जाबको अमृतसर र पाकिस्तानको लाहोर जोड्ने मार्गबीचमा पर्दछ । पाकिस्तान तर्फ पर्ने वाघा गाउँ नजिकै भारत पाकिस्तानबीचको सीमा रेखा रेड्क्लिफ लाइन पर्दछ ।

भारत तर्फ अट्टारी भन्ने ठाउँ छ । सीमामा पाकिस्तान तर्फ ‘पाकिस्तान रेंजर्स’ र भर्रत तर्फ ‘बोर्डर सेक्युरिटी फोर्स-बीएसएफ’ तैनाथ रहेको छ । सीमामा दुवै देशतर्फ हरेक दिन हज्जारौं मानिस उपस्थित भएर त्यहाँ दिनहुँ आयोजना गरिने ‘बिटिङ् रिट्रिट’ हेर्न आउने गर्दछन् । यहाँ सन् १९५९ देखि दिनहुँ यो कार्यक्रम आयोजना हुँदैछ । यो भारत-पाकिस्तान युद्धका बेला बाहेक अरु समय स्थगित भएको छैन ।

यो दुई देशबीच सबै भन्दा शान्तिपूर्ण नाका समेत हो । यसै नाका भएर दुई देशबीच संचालन हुने एकमात्र अन्तरदेशीय रेल सेवा ‘सम्झौता एक्सप्रेस’ संचालन हुने गर्दछ ।

यो यस प्रकारका कामहरूका लागि सबैभन्दा सजिलो सीमा हो । सन् १९७१ मा भारतले पाकिस्तानका ९० हजार युद्धबन्दीलाई यही सीमाबाट सुम्पेको थियो ।

यो सीमा लाहोरबाट २४ किलोमिटर र अमृतसरबाट ३२ किलोमिटरको दूरीमा छ । लाहोर पाकिस्तानतर्फको पन्जाबको राजधानी हो भने अमृतसर भारतको प्रसिद्ध शहर हो । यहाँ सिखहरूको प्रमुख तीर्थस्थल अमृतसर पनि छ ।

यस्तो अवस्थामा दुवै देश यस सीमामा तनाव थेग्न सक्दैनन् किनकि यसबाट हुने क्षति अनुमानभन्दा बढी हुनेछ ।

पाकिस्तानले वर्धमानलाई सुपुर्दगी गर्न यही सीमा छान्नुका पछाडी कयौं कारण हुनसक्छन् । तर स्पष्ट देखिने कारण भनेको पाकिस्तान भारतीय आम जनतामा आफू भारतीय जनताको शत्रु नभएको संदेश दिन समेत चाहन्छ । यस्तो भएको खण्डमा यो इमरान खानको ठुलो कूटनीतिक जीत साबित हुनेछ ।

धर्मसंकटमा भारत 

भारतमा आसन्न लोकसभा निर्वाचनले गर्दा ‘देशप्रेम’को भावना उम्लिराखेको छ । र भारतीय आम बुझाइमा देशप्रेमको सिधा सिधा अर्थ ‘पाकिस्तानलाई घृणा’ गर्नु हो ।

फेरि मोदी दक्षिणपन्थी धडाबाट आउने भएकाले उनकालागि पाकिस्तानलाई ‘पाठ सिकाएको’ प्रचार गर्नु तात्कालिक बाध्यता पनि हो ।

यस्तोमा मोदी जतिसुकै ठाडो हुन खोजे पनि इमरानको यस पहलले आम शान्तिप्रेमी भारतीय जनतामा उनी लोकप्रिय हुने निश्चित छ ।

यस्तोमा भारत यस मामिलाको धेरै प्रचार नहोस भन्ने चाहन्छ । त्यसका लागि उसले वाघा सीमामा विशेष सुरक्षा प्रबन्ध मिलाएको छ ।

भारत चाहँदैन कि पाकिस्तानको ‘उदारता’ आम भारतीय या विश्व समुदायले देखुन । आज वाघा सीमामा हरेकदिन आयोजना हुने बिटिङ रिट्रिट रद्द गरिएको छ ।

त्यहाँ उपस्थित सर्वसाधारण र मिडियालाई फर्काउन लागिएको छ । अहिले अट्टारी सिमामा हजारौंको संख्यामा भारतीय नागरिक उपस्थित रहेका छन् । उनीहरूले अभिनन्दनलाई स्वागत गर्न आफूहरू उपस्थित रहेको भनिरहेका छन् । तर उनीहरूले निराश घर फर्किनुपर्ने भएको छ ।

भारतले यस कार्यक्रम पहिले नै पाइलटलाई सुम्पिनुपर्ने बताइरहेको थियो भने पाकिस्तानले कार्क्रमकैबीचमा उनलाई सुपुर्द गर्ने बताएको थियो ।

भारतमा खुसियालीको माहौल

अहिले देशभरिबाट थुप्रै मानिस विमान चालक अभिनन्दनलाई स्वागत गर्न वाघा सीमामा पुगेका छन् । उनीहरू यसलाई भारतको विजयको रूपमा व्याख्या गरिरहेका छन् ।

यसो हेर्दा सर्वसाधारणमा मोदीको प्रभाव छाएको छ । उनीहरूमा पाकिस्तानी मिडियाले भन्ने गरे झैं ‘युद्ध उन्माद’ व्याप्त छ ।

भारतीय टेलिभिजन च्यानलहरू उक्त घटनालाई अतिरंजित गरेर प्रस्तुत गरिरहेका छन् ।

तर सबै भारतीयको विचार भने त्यस्तो छैन । सामाजिक संजालमा धेरैले इमरान खानको यस पहलले क्षेत्रीय शान्तिमा योगदान पुग्ने बताइरहेका छन् ।

बिबिसीले लेखेको छ, “अभिनन्दनलाई रिहा गर्ने फैसला इमरान खानको राम्रो कदम हो । अभिनन्दन कुनै अपराधी नभएर उनी युद्धबन्दी हुन् र उनी आफ्नो देशका लागि काम गरिराखेका थिए । उनलाई रिहा गर्नु इमरान खानको राम्रो राजनैतिक निर्णय हो ।”

बिबिसी अगाडि लेख्छ, “यसले भारत र पाकिस्तानबीच सम्बन्ध सुध्रिने मात्र होइन यसले इमरानको कद समेत अन्तर्राष्ट्रिय स्तरमा बढ्नेछ ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!