अप्राकृतिक मैथुन गराउने ५० वर्षीय प्रअलाई ५ वर्ष कैद

पर्वत, फागुन १७ । ‍स्कुले बालिकालाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ परेका ५० वर्षीय खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ । गत साउन पहिलो साता पक्राउ परेका पौडेल फलेबास–६ देवीस्थानको माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । पुर्पक्षका लागि थुनामा रहेका उनीविरुद्ध जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले बुधबार कैद सजाय सुनाएको हो । उनीमाथि एक वर्षदेखि ७, १० र १२ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोप लागेको थियो । ससाना बालिकालाई ललाइफकाइ र डर, त्रास देखाएर धेरै समयअघिदेखि एउटै क्रियाकलाप दोहोर्‍याएपछि अभिभावकहरूले थाहा पाएर घटना बाहिर आएको हो ।

अभिभावकको उजुरीका आधारमाप्रहरीले पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।प्रहरीका अनुसार पौडेलविरुद्ध जबरजस्ती करणी (अप्राकृतिक मैथुन) शीर्षकमा मुद्दा दर्ता भएको थियो । पौडेल २०४२ सालदेखि सोही विद्यालयमा अध्यापनरत थिए । ०६१ मा शिक्षक सेवा आयोग पास गरेर स्थायी नियुक्ति लिएपछि उनी प्रधानाध्यापक बनेका थिए । सामान्यतयाः उनको व्यवहार नकारात्मक नदेखिएको सहकर्मी बताउँछन् ।

‘विद्यालयको शैक्षिक र भौतिक उन्नतिमा निकै चासो राख्नुहुन्थ्यो । हामीले बाहिरी नजरले हेर्दा नकारात्मक थिएन,’ एक सहकर्मीले भने, ‘भित्रभित्रै त्यस्तोव्यवहार छ भन्ने हामीले सुइँको पाएकै थिएनौं ।’ स्थानीयका अनुसार पौडेलले आफूमाथि गरेको दुर्व्यवहारबारे करिब डेढ महिनाअघि नै एक बालिकाले अभिभावकलाई सुनाएकी थिइन् । एउटीले घटना सार्वजनिक गरेपछि अरू तीनलेपनि आफूमाथि त्यस्तो घटना भएको बताएका थिए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!