अदुवाबाट करोडौंको आम्दानी हुँदा कृषकहरु हर्षित

गाईघाट, फागुन १७ । कटारी नगरपालिका ११ का किसानले यसवर्ष अदुवा बिक्री गरेर राम्रो आम्दानी गरेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष बढी अदुवा बिक्री भएकाले किसानले एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् । स्थानीय किसान पूर्णवीर राउतका अनुसार यस वडाका गहुँबारी, गोठडाँडा र आसपासका क्षेत्रबाट असोजदेखि अहिलेसम्म करिब ११ हजार टन अदुवा बिक्री गरिएको छ । उनले भने, बारीबाटै प्रतिकिलो ८० रुपियाँँमा बिक्री भएको थियो ।

अदुवा खरिद गर्न विराटनगर, धरान, काठमाडौंका साथै भारतबाट समेत व्यापारी आउने गरेको अदुवा जोनका अगुवा किसान कुसल राउतले बताए । अदुवा खेतीलाई व्यावसायिक बनाउँदै लैजाने कटारी नगरपालिका ११ का अध्यक्ष दीपक बुढाथोकी बताउँछन् । अदुवाले नै गाउँको आर्थिक मुहार फेर्दै लगेको छ, उनले भने, अदुवा बिक्री गरेर यस क्षेत्रका एउटा किसानले न्यूनतम पनि दुई लाख रुपियाँँ आम्दानी गर्दै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन)को विकास कार्यक्रम उदयपुरका सञ्चालक समितिको संयोजक मणि खम्बूले यस क्षेत्रका अदुवा किसानका लागि पकेट क्षेत्र निर्माण गरी उत्पादन, बिक्री वितरण र प्रशोधनका कार्यक्रम सञ्चालन गरिने बताए ।
अदुवा, बेसार उत्पादन क्षेत्रको पहिचान गरी यसको व्यावसायिक विकासका लागि पहल गर्ने उहाँले बताए ।

कटारीमा उत्पादन हुने अदुवा नक्सलबारी हुँदै भारतमा निर्यात गर्ने गरेको अदुवा व्यवसायी सुरज साहले बताए । अदुवा उत्पादन भए पनि गुणस्तरीय नहुँदा निर्यातमा समस्या रहेको भन्दै व्यवसायी साहले भने, किसानले राम्रो मूल्य लिए पनि गुणस्तरीय अदुवा दिन नसक्दा भन्सारमा रोकिने गरेको छ । भारतीय भन्सार नाकाबाट धुलाइ नगरेको ९नपखालेको० अदुवा पास नहुँदा समस्या हुने गर्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!