आफ्नो कब्जामा रहेका भारतीय पाइलटलाई पाकिस्तानले भोलि रिहा गर्ने

बीबीसी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेनाले हवाई कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय लडाकु विमानका चालकलाई फिर्ता गरिने बताएका छन्।

भारत र पाकिस्तानबीच बुधवार भएको हवाई आक्रमणमा भारतीय वायुसेनाका अभिनव वर्तमानलाई पाकिस्तानले समातेको थियो।

भारतले उनलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको थियो।

भारत र पाकिस्तानबीच चुलिँदो तनावलाई मत्थर पार्न ती विमानचालकलाई मुक्त गर्न लागिएको खानले बताए।

उनले संसद्‌मा भने, “शान्तिको सङ्केतका रूपमा उनलाई भोलि मुक्त गरिनेछ।”
पाकिस्तानले ती पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनु ‘लाजमर्दो’ भएको भनी भारतले आपत्ति प्रकट गरेको थियो।

अभिनन्दनले बुधवार बिहान उडाएको मिग २१ विमान पाकिस्तानी वायुसेनाले खसालिदियो र उनलाई आफ्नो नियन्त्रणका लिएको थियो।

यसअघि पाकिस्तानी प्रधानमन्त्री खानले टेलिभिजन सम्बोधनमा भनेका थिए, “पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौँ। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न आवश्यक छ।”

दुवै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा ‘कसैले पनि भूलको परिणाम थेग्न’ नसक्ने भन्दै उनले सम्वादको माध्यमबाट विवाद सुल्झाउन आग्रह गरेका थिए। पाकिस्तानी सेनाले अभिनन्दन आफूसँग सकुशल रहेको बताएको छ। उसले अभिनन्दनको एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेको छ।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले पनि ती भारतीय पाइलटलाई मुक्त गर्नेबारे भारतसँग छलफल गर्न तयार रहेको बताएका थिए।

पाकिस्तानी पत्रकार हामिद मीरले आफ्नो ट्वीटमा बताएअनुसार जियो न्यूजसँग एउटा अन्तर्वार्तामा विदेशमन्त्री कुरैशीले भने, ”पाकिस्तान र भारतबीच भइरहेको तनाव यदि विङ कमान्डर अभिनन्दनलाई मुक्त गरेर कम हुन्छ भने हामि यसबारे कुरा गर्न तयार छौँ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!