एक पटक दुर्घटना हुँदाको कारण अब दोहोरिन दिनुहुँदैनः उपप्रधानमन्त्री

काठमाडौं, फागुन १६ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको बताए ।

“सबै हवाई दुर्घटना एकै प्रकृतिका कारणबाट हुँदैनन्, एक पटक दुर्घटना हुँदाको कारण अब दोहोरिन दिनुहुँदैन,” उनले भने। उनले आजै शवहरु त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि सामूहिक श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने र त्यसपछि मृतकका परिवारका सदस्यलाई अन्त्येष्टि गर्न जहाँ लगेपनि सरकारले सहयोग गर्ने जानकारी दिए।

बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो। त्यस बखत विमानस्थलमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विमानस्थल पुगेका थिए।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो। रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!