मन्त्री पुनद्वारा आफू अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग

रोल्पा, फागुन १६ । ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ ले आफुले अध्ययन गरेको रोल्पा स्थित एक विद्यालयलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । मन्त्री पुनले सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यामिक विद्यालयका पूर्वविद्यार्थीले स्थापना गरेको १ करोडको छात्रवृत्ती अक्षयकोषका लागि ५ लाख सहयोगको घोषणा गरेका हुन् ।

विद्यालय परिसरमा आयोजित पूर्व विद्यार्थीको प्रथम अधिवेशनका सन्दर्भमा आयोजित कार्यक्रममा मन्त्री पुनले आर्थिक सहयोग गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री पुनले २०४२ सालदेखि माध्यमिक तह अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउदा खुसी लागेको वताए ।

छात्रवृत्तीले गरिव, जेहेन्दार द्धन्द्धपिडित र अपांग विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने मन्त्री पुनले आशा व्यक्त गरे । विद्यालय आउदा आफूले लामो समयसम्म जुत्ता चप्पल लगाउन नपाएको स्मरण गर्दै गरिव भएकै कारण पढाई छोड्नु पर्ने वाध्यता अहिले नभएको मन्त्री पुनको भनाई थियो ।

जिल्लाको नमूना माविको थप विकास र स्तरवृद्धीका लागि पूर्व विद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्दै विद्यालयलाई देशकै नमूना वनाउन आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!