हेलिकोप्टर दुर्घटनाः नेकपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका दिवंगत मन्त्री अधिकारीसहित ७ जनाको निधन भएकोमा एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । पार्टीका कन्द्रीय सदस्यसमेत रहेका दिवंगत मन्त्री अधिकारीसहित ७ जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनीहरुको परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिए ।

बैठकले मन्त्री अधिकारीको सम्मानमा देशभरका सबै पार्टी कार्यालयहरुमा बिहीबार पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । त्यसैगरी सबै पार्टी कार्यालयहरुमा ३ दिनसम्म शोक पुस्तिका राखिने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले बताए । नेकपाले मन्त्री अधिकारीको श्रद्धाञ्जलीका लागि आगामी फागुन २३ गते बिहीबार पार्टी केन्द्रीय कार्यालयको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!