श्रीमतीसँग खटपट भएको झोंकमा विमान अपहरणको प्रयास, गुमाउनु पऱ्यो ज्यान

काठमाडौँ, फागुन १४। ढाकाबाट दुबई उडेको एउटा बाङ्ग्लादेशी विमान अपहरण गर्ने प्रयास गर्न खोज्ने व्यक्तिसँग नक्कली पेस्तोल भएको खुलेको छ।

आइतवार साँझ चटगाउँमा आपत्कालीन अवतरण गरेपछि सो विमानका सबै यात्रु र चालकदलका सदस्यसमेत १४८ जनाको सकुशल उद्धार गरिएको थियो।

आत्मसमर्पण गर्न नमानेपछि विमान अपहरण गर्न खोज्ने सन्दिग्ध व्यक्तिलाई सुरक्षाकर्मीहरूले गोली हानेर मारिदिएका थिए।

अधिकारीहरूका अनुसार २५ वर्षीय ती व्यक्तिको “मानसिक स्थिति असन्तुलित” थियो र उनले प्रधानमन्त्रीसँग कुरा गर्ने माग राखेका थिए।

उनको औपचारिक नाम मोहम्मद पलाश अहमद भएको बताइएको छ।

उनले विमानभित्र अस्वाभाविक गतिविधि देखाउँदै चालकदलका एक सदस्यलाई नियन्त्रणमा लिएका थिए। केही यात्रुहरूले उनीसँग एउटा सानो बन्दुक देखेको बताएका थिए।

ती व्यक्तिसँग विस्फोटक पदार्थ भएको शङ्का थियो।

तर चटगाउँका प्रहरी प्रमुख कुसुम देवानले एउटा विज्ञप्तिमा ती सन्दिग्ध व्यक्तिले खेलौना पेस्तोल बोकेको र उनीसँग विस्फोटक पदार्थ नभेटिएको जनाएका छन्।

श्रीमतीसँग खटपट

श्रीमतीसँग खटपट भएको भन्दै ती व्यक्तिले देशकी प्रधानमन्त्री शेख हसिनासँग आफ्नो कुरा गराइदिनुपर्ने माग राखेको चटगाउँ विमानस्थलका प्रबन्धक सर्वार‍-ए-जमानले अहमदले समाचारसंस्था एएफपीलाई बताए।

त्यतिबेला हसिना चटगाउँमै थिइन्।

उनले भने, “श्रीमतीसँग समस्या भएकाले विमान अपहरण गरेको उनले हामीलाई बताएका थिए र उनी प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न चाहन्थे।”

सुरक्षा बढाइयो

ती व्यक्तिले कसरी विमानस्थलको सुरक्षाजाँच छल्दै नक्कली हतियार विमानसम्म लग्न सके भनेर अहिले अनुसन्धान हुँदैछ।

सो घटनापछि ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै विमानस्थलहरूमा सुरक्षा बढाइएको छ।

सैनिक अधिकारीहरूले गोली लागेका ती व्यक्ति पहिला घाइते भएका तर पछि उनको मृत्यु भएको बताएका छन्।

आइतवार राति मेजर जेनरल मोतिउर रहमानले भनेका थिए, “हामीले उनलाई पक्राउ गर्न वा आत्मसमर्पण गराउन खोज्यौँ। तर उनले मानेनन् र हामीले गोली हान्यौँ। हामीले उनीसँग भएको एउटा पेस्तोल फेला पार्‍यौँ।”

उनले शङ्कास्पद गतिविधि गर्दै विमान अपहरण गर्न खोजेको सङ्केत दिएपछि विमानका कर्मचारीहरू चनाखो भएका समाचारसंस्था रोएटर्सले उल्लेख गरेको थियो।

चटगाउँमा अवतरण गरेपछि सो विमानलाई सुरक्षाकर्मीहरूले घेरा हालेका थिए र अधिकारीहरूले सन्दिग्धसँग कुरा गर्ने प्रयास गरेका थिए।

बिबिसीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!