निजी तथा सामुदायिक विद्यालयमा भव्यरुपमा सरस्वतीको पूजाअर्चना गरिँदै

काठमाडौं, माघ २७ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाईदै छ ।

बसन्त पञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या–बुद्धि बढ्ने विश्वास रहेको छ ।

देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाईएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।

श्रीपञ्चमीलाई शिक्षा शुभारम्भ गराउने उत्तम दिनका रुपमा लिईन्छ । हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायनी, बुद्धिदात्री, ब्रह्मचारिणी चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले समेत पुकार्ने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु, कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रुपमा पूजा आराधना गर्छन् । तान्त्रिकहरु तन्त्र सिद्धिका लागी तारादेवीका रुपमा आरधना गर्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवी नामले प्रसिद्धि पाएकी बह्मकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वतीको पूजाको ठुलो महत्व छ ।

अघिल्लो वर्ष जस्तो यसवर्ष भने सरकारले सरस्वती पूजाका दिन सार्वजनिक बिदा दिएको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!