कांग्रेस नेता महत भन्छन्, ‘अब जनतालाई सडकमा उतार्छौं’

लमजुङ, माघ २५ । कांग्रेस नेता प्रकाशशरण महतले सरकारको दवदवा कायमै रहे सरकारविरुद्ध जनतालाई सडकमा उतार्ने चेतावनी दिएका छन् । दुईतिहाईको सरकारले जनताको चाहनाअनुरुप काम गर्न नसकेको उनले टिप्पणी गरे ।

प्रेस युनियन लमजुङले शुक्रबार बेंसीसहरमा गरेको पत्रकार भेटघाटमा उनले भने, ‘मुलुकमा हत्या, हिंसा, बलात्कार, अराजकता, भ्रष्टाचार बढेको छ । पीडितले न्याय पाउनुको सट्टा उल्टै पीडित बन्नुपरेको छ । जनताका मागलाई बेवास्ता गरिएको छ । महँगी र करले जनता मारमा परेका छन् । अर्थतन्त्र ऋणात्मक छ । यस्तो अवस्थामा हामी हामी चुप लागेर बस्न सक्दैनौं ।’अहिले कार्यकर्तामात्रै सडकमा आउन थालेको भन्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका उनले सरकारको यस्तै रवैया देखिरहे जनतालाई पनि सडकमा उतार्ने उनले चेतावनी दिए ।

सरकारलाई सच्चिन आग्रह गर्दा पनि नसच्चिएपछि आन्दोलनमा जानुपरेको उनले बताए । ‘जबसम्म हाम्रो आवाज सरकारले सुन्दैन । हामी विरोधका कार्यक्रम गरिरहन्छौं’ उनले भने, ‘हामीलाई सडकमा जान बाध्य पारिएको छ । सडकमा जानु हाम्रो रहर होइन ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!