न्यूजिल्याण्डमा रोहित शर्माले बनाए यी ५ रेकर्ड, किन भनिन्छ उनलाई हिटम्यान ?

काठमाडौं, माघ २६ । तीन टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत तेस्रो खेलमा भारतले न्युजिल्याण्डलाई ७ विकेटले जितेर शृंखलामा फर्किएको छ । यसका साथै यस शृंखलामा भारतको कप्तानी सम्हालिरहेका रोहित शर्माले भारतका नियमित कप्तान विराट कोहलीको रेकर्ड समेत तोडिदिएका छन् ।

भारतीय क्रिकेट टोलीका ‘हिटम्यान’ भनेर चिनिने रोहितले अकल्याण्डको इडेन पार्कमा भएको रोमान्चक खेलमा टि-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न पाँच रेकर्ड बनाए ।

१. सर्वाधिक पटक टि-ट्वेन्टी अन्तर्राष्ट्रियमा ५० भन्दा बढी रन

भारतको कार्यवाहक कप्तान रहेका रोहितले आजको खेलमा २९ बल खेल्दै ३ चौका र ४ छक्काको सहायताले ५० रन बनाए । यसका साथै उनले २० औं पटक ५० रन पार गरे । यसका साथै उनी टि-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक पल्ट ५० रन पार गर्ने खेलाडी समेत बन्न सफल भए ।

यस अघि यो रेकर्ड भारतकै नियमित कप्तान विराट कोहलीको नाममा रहेको थियो । कोहलीले १९ पटक ५० भन्दा बढी रन बनाएका छन् ।  यस सूचिको तेस्रो नम्बरमा न्युजिल्याण्डका मार्टिन गप्तिल रहेका छन् । उनले १६ पटक ५० भन्दा बढी रन बनाएका छन् ।

यसका लागि रोहितले १६ पटक अर्धशतक र ४ पटक शतक लगाएका छन् । उनी सर्वाधिक टि-ट्वेन्टी शतक लगाउने खेलाडी समेत हुन् ।

२. सर्वाधिक टि-ट्वेन्टी रन

रोहित शर्माले आजको अर्धशतकसँगै टि-ट्वेन्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने रेकर्ड समेत बनाएका छन् । उनले ९२ खेलमा ८४ पारीमा २२८८ रन बनाएका छन् भने दोस्रो नम्बरमा रहेका मार्टिन गप्तिलको २२७२ रन रहेको छ । यस सूचिको तेस्रो र चौथो क्रममा क्रमशः शोएब मल्लिक र विरत कोहली रहेका छन् । मल्लिकको नाममा २२६३ रन र कोहलीको नाममा २१६७ रन रहेका छन् ।

३. छक्काहरूको शतक

आजको खेलमा ४ छक्का लगाएर रोहित छक्काको शतक पूरा गर्ने पहिलो भारतीय र विश्वकै तेस्रो खेलाडी बनेका छन् । हाल उनी १०२ छक्कासँगै दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा १०३ छक्का लगाउने मार्टिन गप्तिल र क्रिस गेलको नाम रहेको छ । रोहितसँग आइतबार यस रेकर्डलाई तोड्ने या बराबरी गर्ने मौका हुनेछ ।

४. अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का लगाउने भारतीय ब्याट्सम्यान

आज उनले लागेका चार छक्काका साथै रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा लगाएका छक्काहरूको संख्या ३४९ पुगेको छ । उनले ३४८ छक्काको महेन्द्रसिंह धोनीको रेकर्ड तोडेका हुन् । सर्वाधिक छक्का लगाउने तेस्रो भारतीय खेलाडीकोरूपोमा सचिन तेन्दुलकर रहेका छन् । उनले जम्मा २६४ छक्का लगाएका छन् ।

यस श्रेणीको विश्व रेकर्ड पाकिस्तानी अल्रौन्दर शाहिद अफ्रिदी र वेस्ट इण्डिजका क्रिस गेलको नाममा रहेको छ । यी दुबैले हालसम्म सबै फर्म्याटमा गरेर ४७६ छक्का लगाएका छन् भने त्यसपछिको क्रममा न्युजिल्याण्डका ब्रेण्डम म्याकुलम रहेका छन् । उनले हालसम्म ३९८ छक्का रहेका छन् ।

५. टि-ट्वेन्टी अन्तर्राष्ट्रियमा दोस्रो सर्वाधिक सफल भारतीय कप्तान

अकल्याण्डमा विजय प्राप्त गरेसँगै उनले विराट कोहलीको एउटा रेकर्डसँग पनि बराबरी गरेका छन् । दुबैले हालसम्म २०-२० खेलमा कप्तानको भूमिका निर्वाह गरेका छन् र १२-१२ मा भारतले जितेको छ ।

यदि ह्यामिल्टनमा हुने तेस्रो खेल भारतले जित्ने हो भने रोहित धोनीपछि सबैभन्दा सफल टि-ट्वेन्टी कप्तान बन्नेछन् । धोनीले ७१ अन्तर्राष्ट्रिय खेलहरूमा टोलीको नेतृत्व गरेका छन् जसमा ४१ मा भारतले जितेको छ ।

किन भनिन्छन् हिटम्यान?

रोहित शर्मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक पटक दोहोरो शतक लगाउने खेलाडी हुन् । उनले हालसम्म तीन पटक २०० भन्दा बढी रन बनाएका छन् । र उनको एउटै पारीको सर्वाधिक स्कोर २६४ रन रहेको छ जुन उनले २०१४ मा श्रीलंकाविरुद्ध १७३ बलमा ३३ चौका र ९ छक्काको मद्दतले बनाएका थिए ।

हालसम्म अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा ८ पटक दोहोरो शतक लगाइएको छ । यसमध्ये तीन शर्माले लगाएका थिए भने अरू खेलाडीमा मार्टिन गप्तिल (२३७*), विरेन्द्र सहवाग (२१९), क्रिस गेल (२१५), फखर जमान (२१०*) र सचिन तेन्दुलकर (२००*) रहेका छन् ।

त्यस्तै यौटै एकदिवसीय पारीमा सर्वाधिक छक्का लगाउनमा पनि उनले क्रिस गेल्को १६ छक्काको बराबरी गरेका छन् । आक्रामक शैलीमा क्रिकेट खेल्ने भएका कारणले उनलाई भारतीय क्रिकेटका ‘हिटम्यान’ भनिन्छ ।

 

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!