भारतमा घट्यो ब्याजदर, नेपालका बैंकले पनि घटाउलान् ?

नयाँदिल्ली, माघ २५ । नेपालमा बैंकको ब्याजदर घटाउन दबाब दिन व्यवसायीहरू आन्दोलित रहेका बेला यता भारतमा भने रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ब्याजदर घटाउने निर्णय गरेको छ ।

बिहीबार आरबीआई गभर्नर शक्तिकान्त दासको अध्यक्षतामा बसेको मौद्रिक नीति समितिको बैठकले ० दशमलव २५ बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको हो । यो निर्णयपछि रिपो दर ६.२५ कायम भएको छ ।

आरबीआईको बैंकहरूलाई प्रवाह हुने ऋणको ब्याजदर (रिपो दर) घटाउने बिहीबारको निर्णयले बैंकहरूको लागत घट्न गई सर्वसाधारणले लिने रिटेल कर्जाको ब्याज पनि कम हुने अपेक्षा गरिएको छ । यसबाट विशेष गरी घर कर्जा सस्तो हुन गई मन्दीको अवस्थाबाट गुज्रिरहेको भारतको रियल स्टेट क्षेत्रमा पुनस् चहलपहल बढ्ने अनुमान पनि गरिएको छ ।

ब्याज दरमा आएको कमीले अतिरिक्त सवारी र व्यक्तिगत कर्जासमेत सस्तो हुने आकलन गरिएको छ । त्यसैगरी समग्र उपभोग वृद्धि हुने र त्यसबाट पूरै अर्थतन्त्रलाई थप गति दिने विश्वास आरबीआईले गरेको छ ।

यद्यपि ब्याजदरमा भएको गिरावट सिधै आमसर्वसाधारसम्म प्रवाह हुनेछ भन्ने निश्चित भने छैन । याे निर्णयसँगै आरबीआई कसिलो मौद्रिक नीतिको आफ्नो पूर्व अडानबाट समेत पछि हटेको छ । दासका पूर्ववर्तीहरू रघुराम राजन र उर्जित पटेलले ब्याजदर घटाउन चौतर्फी दबाब परे पनि टसमस भएका थिएनन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!