रोहित शर्माले बनाए टि-ट्वेन्टीमा विश्व रेकर्ड

काठमाडौँ, माघ २६ । न्युजिल्याण्डविरुद्धको दोस्रो टि२० खेलमा भारतका ओपनर ब्याट्सम्यान रोहित शर्मा अर्धशतक बनाएर आउट भएका छन् । यसका साथै रोहितले विश्व टि२० क्रिकेटमा केही नयाँ रेकर्ड समेत बनाएका छन ।

सर्वाधिक टि२० रन

रोहितले ९२ खेलमा ८४ पारीहरूमा २२८८ रन बनाएका छन् । यो २० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक हो । यसअघि यो रेकर्ड न्युजिल्याण्डकै मार्टिन गप्तिलको नाउँमा थियो । गप्तिलले ७४ पारीमा २२७८ रन बनाएका छन् । त्यस्तै यस सुचिमा तेस्रो क्रममा पाकिस्तानका शोएब मालिक रहेका छन् । उनले १०४ पारीमा २२६३ रन बनाएका छन् ।

छक्काको शतक

आज आउट हुनुपूर्व रोहितले २९ बल खेलेर ५० रन बनाएका हुन् । उनले यस क्रममा ३ चौका र ४ छक्का प्रहार गरे । यसका साथै रोहित  टि२० क्रिकेटमा १०० भन्दा बढी छक्का प्रहार गर्ने पहिलो भारतीय विश्वकै तेस्रो ब्याट्सम्यान बनेका छन् ।

उनले आजको म्याचमा ४ छक्का प्रहार गरेर छक्काहरूको संख्या १०२ पुर्याए । यस पंक्तिमा उनीभन्दा अगाडि न्युजिल्याण्डका मार्टिन गप्तिल र वेस्टइन्डिजका क्रिस गेल रहेका छन् । यी दुबैले बराबर १०३ छक्का प्रहर गरिसकेका छन् ।

आजको खेलमा रोहितले इश सोधीको बलमा आजको दोस्रो छक्का प्रहार गर्दै छक्काहरूको शतक पूरा गरेका थिए ।

भारतको लागि सिरिजमा फर्किने मौका 

तीन खेलको टि-ट्वेन्टी शृंखलामा न्युजिल्याण्ड १-० ले अगाडि छ । अकल्याण्डको इडेन पार्क रङ्गशालामा भैरहेको आज्कोखेल्मा न्युजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको छ । १५९ रन्को लक्ष पछ्याउन मैदानमा उत्रिएको भारतलाई शिखर धवन र रोहित शर्माले राम्रो सुरुवात दिलाएका थिए ।

समाचार तयार हुँदासम्म भारतले १४.२ ओभरमा ३ विकेट गुमाउंदै १२७ रन बनाइसकेको छ भने रिशभ पन्त र महेन्द्रसिंह धोनी क्रिजमा रहेका छन् ।

रोहित आज भारतको कप्तानी समेत गरिराखेका छन् । सिरिजमा टिकिराख्न भारतले आजको खेल जित्नैपर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!