प्रदीपलाई धन्यवाद दिँदै अनमोलले भने– ‘लभ स्टेशन’ लाई शुभकामना

काठमाडौं, माघ २५ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेताद्वय अनमोल केसी र प्रदीप खड्कालाई एक अर्काका प्रतिस्पर्धीका रुपमा लिने गरिन्छ ।

दुईबीच स्टारडम र को नम्बर वान भन्ने खालको अघोषित लडाई छ भनिन्छ । लगभग बराबरको संख्यामा चलचित्र गरिसकेका उनीहरु अहिलेका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता हुन् । ‘दुईलाई लिएपछि फिल्म असफल हुँदैन’ भन्ने मान्यता फिल्म मेकर्समा छ ।

अनमोल र प्रदीपको पहिलो पटक यस वर्ष राजधानीमा आयोजना भएको ‘एनएफडिसी अवार्ड’ मा भेट भएको थियो । उनीहरु आमनेसामने मात्र भएनन् मिडियाको आग्रहलाई सहर्ष स्वीकार गर्दै अंकमाल गरेर मुस्कुराउँदै तस्वीर पनि खिचाए । उक्त भेटपछि उनीहरुमा स्टारडमको लडाई सकिएको र एउटा अनमोल मित्रताको सुरुवात भएको चर्चा हुन थालेको छ ।

केही दिनअगाडि प्रदीपले अनमोल अभिनीत चलचित्र ‘क्याप्टेन’को ट्रेलर आफ्नो आधिकारिक फेसबुक पेजबाट साझेदार गरेर एउटा नयाँ सुरुवात र मित्रताको उदाहरण पेश गरे । उनले ट्रेलर निकै मन परेको बताउँदै अनमोल र आफू दाजुभाई रहेको समेत बताएका थिए । उनको यो सकारात्मक कदमलाई दर्शक र चलचित्रकर्मीले प्रशंसा गरेका छन् । यसले दर्शकमा उनीप्रतिको सम्मान अरु थपिएको बताउन थालिएको छ।

प्रदीपले ‘क्याप्टेन’को ट्रेलर साझेदार गरेको ६ दिनपछि अभिनेता अनमोल केसीले उनलाई धन्यवाद दिएका छन् । प्रदीपले फिल्मको ट्रेलर साझेदार गरेको फेसबुकको कमेन्टमा अनमोलले लेखेका छन्, ‘धन्यवाद प्रदीप । ‘लभ स्टेशन’ लाई शुभकामना ।’ प्रदीपको नयाँ फिल्म ‘लभ स्टेशन’ आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ भने अनमोलको ‘क्याप्टेन’ फागुन १७ मा प्रदर्शन हुँदैछ ।

केही समय अगाडिसम्म फ्यानहरुबीच पनि अनमोल र प्रदिपलाई लिएर तिक्तता देखिँदै आएको थियो । अब दुई नै घनिष्ट मित्र भएपछि उनीहरुका फ्यानमा चल्दै आएको घम्साघम्सी पनि रोकिने देखिएको छ । अनमोल र प्रदीप जतिजति नजिक हुँदैछन् दर्शकमा दुईलाई एउटै चलचित्रमा हेर्ने चाहना पनि बढ्दै गएको छ ।

प्रशंसकहरुको यो चाहना चाहिँ कहिले पूरा होला ? त्यो भने हेर्न बाँकी नै छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!