होसियार ! मौलायो एटीएम ठगी

काठमाडौं, माघ २५ । पछिल्लो समय बैंकिङ क्षेत्रमा ठगी गर्ने क्रम बढेको छ । एटीएम प्रयोग गरी ठग्नेको बिगबिगी बढेको देखिएको छ । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) को पछिल्लो तथ्यांकअनुसार मास्टर कार्डको प्रयोग गरी बैंक ठगी गर्ने क्रम बढेको छ ।

सीआईबीले हालसम्म एटीएम ठगीबाट २ करोड ५७ लाख ४४ हजार ४३१ रुपैयाँ मागदाबी लिएको छ । सीआईबीले हालसम्म नेपाली ८८ लाख ७६ हजार ८५० रुपैयाँ बरामद गरेको छ । त्यसैगरी, अमेरिकी डलर ७५ हजार २२५, युरो ७३ हजार ८७५, इन्डोनेसियन रुपी ३३ हजार, फिलिपिन करेन्सी ४७० र विभिन्न १ हजार ३५७ थान एटीएम बरामद गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार पछिल्लो समय एटीएम ठगीमा विदेशी नागरिकहरू बढी रहेका छन् । सीआईबी प्रवक्ता उमाप्रसाद चतुर्वेदीले भने, ‘गत वर्षमा भन्दा अहिले एटीएम ठगीमा विदेशीहरू बढेको देखिन्छ ।’ नेपालको बैंकिङ सुरक्षा प्रणाली कमजोर भएकाले विदेशी एटीएम ठगीमा आकर्षित भएको उनले बताए ।

बैंकिङ सुरक्षा सिस्टमलाई बलियो बनाउने हो भने एटीएम ठगीका घटनामा कमी आउने प्रवक्ता चतुर्वेदीको भनाइ छ । त्यस्तै, सीआईबीले एटीएम ठगीमा हालसम्म विदेशीविरुद्ध गरिएको ११ वटा कारबाहीमा चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, दुई भारतीय र चार मोल्दोभियन गरी जम्मा १८ जना विदेशी नागरिक पक्राउ गरेको छ भने पाँच जना स्वदेशी पक्राउ परेका छन् ।

सीआईबीको पछिल्लो तथ्यांकअनुसार हरेक वर्ष बैंकिङ कसुरका घटना बढिरहेका छन् । सीआईबीले विभिन्न बैंकिङ कसुरका घटनामा हालसम्म १९६ जना पक्राउ परेका छन् । जसमा २१ अर्ब ३७ करोड ४१ लाख ९७६ घोटाला भएको भन्दै बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरेको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा बैंकिङ कसुरका घटना हरेक दिन जसो बढेको देखिएको छ । प्रवक्ता चतुर्वेदीका अनुसार छोटो समयमा आरामदायी तरिकाले धनी बन्ने सपनाले बैंकिङ कसुरका घटना बढेका छन् । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!