अब जेलमा कारखाना, १ वर्ष काम गर्दा २ महिना कैद मिनाहा

काठमाडौं, माघ २५ । काठमाडौंको केन्द्रीय कारागारमा रहेको कारखानामा कैदी–बन्दीहरुले विभिन्न सामाग्रीहरुको उत्पादन गर्ने गरेका छन् । तर उत्पादित ती सामाग्रीहरुको राम्रो बजारीकरण हुन सकेको छैन ।

२०१६ सालमा काठमाडौंको केन्द्रीय कारागारमा बनेको ‘कारागार कारखाना’ ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो कारखाना बीपी कोइराला प्रधानमन्त्री हुँदा निर्माण गरिएको हो । कैदी–बन्दीहरुको सीपको सदुपयोगसँगै उनीहरुको मन बहलाउन र धेरथोर आयआर्जन पनि होस् भन्ने उद्देश्यले कारागारमा यो कारखाना स्थापना गरिएको हो ।

यहाँ अहिले झण्डै ५० वटा तानमार्फत कैदीबन्दीले कपडा बुन्ने गर्दछन् । उद्योग र गृहमन्त्रालयको समन्वयमा सञ्चालन गरिएको कारखानामा भण्डै ३५ जना कैदीले काम गरिरहेका छन् । यहाँ एक बर्ष काम गर्नेहरुको दुई महिना कैद मिनाहाको व्यवस्था गरिएको छ ।

कैदीले कपडा बुन्नका लागि चर्खामा चार लट्टाइँ धागो बेरेबापत २ रुपैयाँ, कपडा बुनाइमा कोराको २ रुपैयाँ र मिटरको सात रुपैयाँको दरले पारिश्रमिक पाउने गरेका छन्, जुन निकै नै थोरै भएको र यसलाई परिमार्जन गर्नुपर्ने कैदीबन्दीको माग छ ।

त्यसो त सरकारले प्रत्येक ३–३ बर्षमा पारिश्रमिक बृद्धि गर्ने भए पनि त्यो निकै कम भएको गुनासो उनीहरुको छ । 

यहाँ उत्पादन भएका कपडा र अन्य सामग्रीहरुले सोचेजस्तो बजार नपाउँदा कतिपय उत्पादन बषौंदेखि यत्तिकै थन्किएकोे कारखाना प्रमुख रामहरि ढुंगेलले बताए ।

यहाँ सर्वसाधारणले समेत आफैँ पुगेर सामाग्रीहरु खरिद गर्न सक्छन् । कारखानामा उत्पादित कपडा खरिदका लागि आएकी एक ग्राहकले यहाँ उत्पादित सामग्री सस्तो र निकै आकर्षक तथा शुद्ध हुने गरेको बताइन् ।

कैदीबन्दीले बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कारखानामा काम गर्छन् । लामो समयको कैद भुक्तान गर्नुपर्नेहरु यहाँ काम गरिरहेका छन् तर कतिपय भने काम गर्ने नाममा कारखाना आए पनि काम नगरी बस्ने पनि गरेका छन् ।

बिक्री भएका सामग्रीबाट उठेको रकम सरकारको पुँजी परिचालन कोषमा जम्मा हुने गरेको छ । त्यहीँबाट उनीहरुले पारिश्रमिक पाउने गरेका छन् । १९ जनाको दरबन्दी रहेको यस कारखानामा हाल ७ जना कर्मचारी छन् ।

बजारको उचित व्यवस्थापन हुन नसक्दा कैदीबन्दीले बनाएका यी सामग्रीहरुले उचित मूल्य पाउन सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!