आंगिकको तुलनामा १४ गुणा बढी निजी र सामुदायिक क्याम्पस

काठमाडौं, माघ २४ । विश्वविद्यालयहरूका आंगिक क्याम्पसको तुलनामा निजी र सामुदायिक कलेजको संख्या १४ गुणाले बढी देखिएको छ । मुलुकका ११ विश्वविद्यालयमा सबभन्दा धेरै सम्बन्धन पाएर खुलेका निजी क्याम्पस छन् । त्यसपछि सामुदायिक क्याम्पसको संख्या उच्च पाइएको हो ।

१ हजार ४ सय ३ मध्ये ७ सय ७७ वटा उच्च शिक्षा प्रदान गर्ने निजी शिक्षण संस्था सञ्चालित छन् । आंगिक र सामुदायिक क्याम्पसको तुलनामा निजी कलेज दोब्बरभन्दा बढी छन् । विश्वविद्यालय अनुदान आयोगका अनुसार ५ सय ३२ सामुदायिक र ९४ वटा मात्र आंगिक क्याम्पस सञ्चालनमा छन् ।

सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयले नै सबैभन्दा बढी निजी सम्बन्धन बाँडेको छ । त्रिविअन्तर्गत ५ सय ७७ निजी क्याम्पस सञ्चालित छन् । ५ सय २४ सामुदायिक र ६० आंगिक क्याम्पस रहेको त्रिविले जनाएको छ । २०५१ मा स्थापित पूर्वाञ्चल विश्वविद्यालयले एक सय ३० निजी कलेजलाई सम्बन्धन दिइसकेको छ । यसअन्तर्गत पाँच आंगिक र ६ सामुदायिक कलेज मात्र सञ्चालनमा छन् ।

विश्वविद्यालयहरू शैक्षिक गुणस्तर सुधार गर्नुभन्दा सम्बन्धन वितरण गर्न आकर्षित हुने गरेको तथ्यांकले पुष्टि गर्छ । शिक्षाविद् विद्यानाथ कोइरालाले विश्वविद्यालयहरू सम्बन्धन बाँडेर पैसा कमाउने धन्दामा लागेको बताए । विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पस र विद्यार्थीबाट वार्षिक शुल्क लिन्छन् ।

पोखरा विश्वविद्यालयले ५८ वटा निजी कलेजलाई सम्बन्धन दिएको छ । उसका ४ आंगिक क्याम्पस छन् भने सामुदायिकको संख्या शून्य छ । काठमाडौं विश्वविद्यालयका सञ्चालित २१ क्याम्पसमध्ये १५ वटा निजी सम्बन्धन पाएका कलेज छन् । सामुदायिक क्याम्पस नचलाएको काठमाडौं विश्वविद्यालयमातहत ६ वटा आंगिक क्याम्पस छन् ।

नेपाल संस्कृत विश्वविद्यालयका १८ क्याम्पसमध्ये १४ आंगिक, दुईरदुईवटा निजी र सामुदायिक कलेज छन् । २०६१ मा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत ६ क्याम्पस खुलेका छन् । तीमध्ये ५ वटा निजी हुन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!