कुलमानको कमालः विद्युत् चुहावट घटाउँदा प्राधिकरणलाई ७ अर्ब कमाइ

काठमाडौं, माघ २४ । विद्युत् चुहावटमा लक्ष्यभन्दा बढी सफलता मिलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट प्रतिशत १५ दशमलव ४५ प्रतिशतमा झरेको प्राधिकरणको दाबी छ ।

गत आर्थिक वर्षमा औसत विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत थियो । यो आर्थिक वर्षमा चुहावट साढे १८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य थियो । पहिलो ५ महिनामा लक्ष्यभन्दा बढी प्रगति भएको जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चुहावट कम गर्न प्राधिकरणले आफ्नो विभिन्न वितरण केन्द्रलाई फरकफरक लक्ष्य दिएको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रूपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको बताए ।

‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत् चुहावट औसतमा २५.७८ प्रतिशत थियो । त्यसपछि आव २०७३/७४ मा घटाएर २२.९ मा झार्‍यौं, आव ०७४/७५ मा २०.४५ मा रहेको चुहावटलाई घटाएर चालु आवको पाँच महिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौं,’ उनले भने । ‘यो वर्षको बाँकी अवधिमा हाल रहेको चुहावटलाई अझै घटाउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘चुहावट नियन्त्रणका लागि राति खटिँदा हाम्रा कर्मचारीहरूले पिटाइसमेत खाएका छन् ।’ आफूले नेतृत्व सम्हालेयता १० प्रतिशतले चुहावट घटेको र यसले प्राधिकरणलाई वार्षिक ७ अर्बरुपैयाँ थप आम्दानी हुने उनले बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!