तारकेश्वर नगरले योजनाहरुको बैंक बनाउने

धर्मस्थली (तारकेश्वर), माघ २४ । काठमाडौं जिल्लाको उत्तरतर्फ रहेको तारकेश्वर नगरपालिको चौथो नगरसभामा एक अर्ब ११ करोडको संशोधित बजेट प्रस्तुत भएको छ । अघिल्लो वर्ष तेस्रो नगरसभाले ९२ करोड २९ लाख २० हजारको अनुमानित बजेट पेश गरेको थियो ।

संघीय सरकार, प्रदेश सरकारका थप बजेट प्राप्त भएको र नगरपालिकाले पनि आफ्नो आय क्षमतामा वृद्धि गरेका कारण बजेटको आकारमा वृद्धि भएको हो । नगरप्रमुख रामेश्वर बोहराले प्रस्तुत गरेका नगरपालिकाको मध्यावधि प्रगति, नीति तथा कार्यक्रम र संशोधित बजेटमा सो कुरा उल्लेख छ । उनले आगामी दिनमा विकासका लागि ‘योजना बैंक’ तयार गरिने बताए ।

नगरपालिकामा प्राप्त हुने आयको तुलनामा जनताको माग वढी रहेको कारण माग भई आएका सवै योजनामा वजेट बिनियोजन गर्न नसकिरहेको अवस्थामा छ । जनस्तरवाट माग भएका तर वजेट बिनियोजन गर्न नसकिएका त्यस्ता योजनाहरुलाई प्राथमिकतामा राखिने जानकारी पनि उहाँले दिए ।
हालसम्मको वित्तीय प्रगति पुँजीगततर्फ १७.४४ र चालुतर्फ ४४.४५ प्रतिशत रहेको छ । नगरपालिकाको आन्तरिक आय, राजश्व वाडफाँडबाट प्राप्त हुने आयसमेतमा अनुमान गरेभन्दा थप आय प्राप्त हुन सक्ने अवस्था देखिएको प्रमुख बोहराले बताए ।

यसैगरी, उपप्रमुख भवानी डोटेल धितालले नगरलाई समृद्ध बनाउन जनप्रतिनिधिहरू क्रियाशील रहेका र विकास निर्माणलगायतका विषयमा अनुगमनलाई नियमित बनाएको बताए । उनले विकास कार्यमा नागरिकको सहयोग प्राप्त भइरहेको र नगरपालिका तथा नागरिकबीचको साझेदारी कार्यक्रम ९५०–५०० कार्यक्रमको आकर्षण आशा गरिएभन्दा निकै बढी छ भने । यस कार्यक्रममा नगरपालिकाको आधा र नागरिकले आधा रकम जम्मा गरेर विकास निर्माणका कार्य गर्ने गरिएको छ।

नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद भीमसेन दासप्रधानले नगरप्रमुख बोहराको नेतृत्वमा तारकेश्वर नगरले बाटो, सडक, ढललगायतका कार्यलाई व्यवस्थित गर्दै लगेको अनुभाव सुनाए । राज्यले पनि स्पष्ट मापदण्ड नबनाउँदा शहरहरु कुरुप र अव्यवस्थित बनेका दृष्टान्त औंल्याउँदै उनले जमीनको प्राकृतिक बनोटलाई मास्न पाइदैन, हरियाली र सौन्दर्य कायम राख्न स्थानीय सरकारका जनप्रतिनिधिहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

यसैगरी, अर्का सांसद रामवीर मानन्धरले मुलुकलाई समृद्ध बनाउन प्रतिपक्षको पनि उत्तिकै रचनात्मक सहयोग आवश्यक पर्छ, समृद्धि ल्याउन सुशासन कायम हुनुपर्ने तर्क राखे । उनले सरकारले धरहरालाई ठूलो बजेट राख्नुभन्दा रिङरोड बनाउन, मेलाम्चीको पानी छिटो ल्याउन र ट्राफिक जामलाई घटाउन बजेट बढाउनुपर्ने सुझाव दिए ।

प्रदेशसभाका सदस्य योगेन्द्र सग्रौलाले देशमा उत्साहजनक काम भइरहेको बरु आवश्यक पर्ने कतिपय कानुनहरू निर्माण गर्न बाँकी रहेको बताए । उनले प्रदेशसभा ३ ले बनाउनुपर्ने ९९ वटामध्ये कानुनमध्ये हालसम्म २९ वटा मात्र बनाएको जानकारी दिए ।

नगरसभामा बुटवल उच्च अदालतका न्यायाधीश तथा स्थानीयबासी प्रभा बस्नेत, नगरका कार्यकारी अधिकृत हीरामणि सुवेदी, इन्जिनियर कञ्चन भट्टलगायतले नगरमा भइरहेका विकासका बारेमा चर्चा गरे । नगरसभामा पेश भएका मध्यकालीन बजेट, नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएपछि कार्यपालिकाको बैठकले योजनाहरुमा बजेट विनियोजन गर्ने जानकारी दिए । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!