नेकपा कार्यदलमा विवाद, आज सहमति नभए दुई प्रतिवेदनको तयारी

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बाँकी रहेका तहको संगठनात्मक एकीकरणका लागि गठन भएको कार्यदलभित्र विवाद चुलिएको छ ।

कार्यदलमा गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे, योगेश भट्राई, रघुबीर महासेठ, वेदुराम भुसाल वर्षमान पुन,लेखराज भट्ट रहेका छन् ।

संगठनात्मक एकीकरणका विषयमा कार्यदललाई एकता प्रस्ताव तयार पार्न जिम्मेवारी दिइएको थियो । यद्यपी कार्यदलको बैठकले सोचे अनुरुप काम भने गर्न सकेन । त्यसपछि नेकपा सचिवालय बैठकले जे जति कार्य भएको छ, सोही आधारमा प्रतिवेदन तयार पारी बुझाउन र बाँकी काम सचिवालयले गर्ने निर्णय गरेपछि कार्यदलभित्रको विवाद सतहमा देखिएको हो ।

कार्यदलमा संयोजक थापा, महासचिव विष्णु पौडेल, शंकर पोखरेल, रघुबिर महासेठलगायता एकातिर छन भने लेखराज भट्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, लेखराज भट्ट र वेदुराम भुषालको मत फरक छ । असन्तुष्ट पक्षले बुधबार संयोजक रामबहादुर थापालाई भेटी सचिवालयको निर्णयमा असन्तुष्टि जनाएपछि आजका लागि बैठक बोलाइएको छ ।

असन्तुष्ट पक्षले स्थायी समितिले बनाएको कार्यदल निष्प्रभावी बनाई सचिवालयले आफैं अधिकार लिन विधानतः उचित नहुने भन्दै कार्यदलमा नै एकीकरण प्रस्तावमा छलफल गराउन उनीहरूले माग गरेका छन्।

‘बैठक नै नबसी कसरी कार्यदलले काम गर्छ? ’ कार्यदल सदस्यसमेत स्थायी समिति सदस्य लेखराज भट्टले भने, ‘पहिले अब कार्यदलको बैठक बस्नुप¥यो, त्यसपछि त्यहीं सहमति÷असहमतिका विषयमा छलफल हुन्छ।’कार्यदल नेतृत्वको बुझाइ फरक परेकाले कार्यदलले काम अघि बढाउन नसकेको सदस्यहरूले आरोप लगाएका छन्। संयोजक थापासँगको भेटमा पनि कार्यदलका ४ नेताले स्थायी समितिको निर्देशनअुनसार कार्यदलले अझै गृहकार्य गर्नुपर्ने धारणा राखेका थिए। ‘कहीं न कहीं नेतृत्व कन्फ्युजनमा रह्यो भन्ने हामीलाई लागेको छ। माघ ७ को बैठकमा जुन विषयमा सहमति भएन त्यो पछि गर्ने, बाँकी विषयमा छलफल अघि बढ्यौं भन्ने भएको थियो। त्यसमा नेतृत्व कन्फ्युजनमा परेको रहेछ’, भट्टले भने, ‘सहमति नभएपछि अघि बढ्दैन भन्ने बुझाइ संयोजकमा रहेकाले बैठक नबसेको रहेछ, हामीले स्पष्ट पारेका छौं, बिहीबारको बैठकमा अब यस विषयमा छलफल हुन्छ।’

४ सदस्यको दबाबपछि संयोजक थापाले बिहीबार दिउँसो २ बजे कार्यदलको बैठक वोलाएका छन्। १३ पुसको स्थायी समिति बैठकले सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, वेदुराम भुषाल, रघुविर महासेठ रहेको चौथो कार्यदल बनाएको थियो।

कार्यदललाई जिल्ला संगठनसम्मको एकीकरण, जनवर्गीय संगठन एकीकरण, पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र सचिवालयले टुंगो लगाइसकेको प्रदेश कमिटीमा नमिलेका विषयमा समेत छलफल गरी प्रस्ताव तयार पार्ने कार्यादेश थियो। तर ७ माघको बैठकमा प्रदेश कमिटी चयन, राजकीय मामिला र दोहोरो जिम्मेवारीकै विषयमा सदस्यबीच मत बाझिएपछि कार्यदलको बैठक नै बस्न सकेको थिएन।

आजको बैठकमा सहमति नजुटे असन्तुष्ट पक्षले बेग्लै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा बुझाउने तयारी रहेको श्रोतले बतायो । यो अवस्थामा सचिवालयमा संयोजकको नेतृत्वमा र असन्तुष्ट पक्षका तर्फबाट गरी दुईवटा प्रतिवेन जाने सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!