भक्तपुर अस्पतालमा नयाँ भवन बन्ने

भक्तपुर– भक्तपुर अस्पतालमा नयाँ भवन बन्ने भएकाे छ । यसअघि भुकम्पले क्षति पुर्‍याएको भवनकाे भने रेट्रोफिटिङ्ग गरेर सन्चालनमा ल्याईने अस्पतालले जनाएकाे छ।

बेलायती सहयोग नियोग (डिएफआइडी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा  भक्तपुर अस्पतालको नयाँ भवन बन्ने भएको हो। अस्पतालको नयाँ भवन र रेट्रोफिटिङ गर्ने भवनको गुरुयोजना अनुसार काम अगाडि बढ्ने छ। 

डिएफआइडीले तीन वटा नयाँ भवन निर्माण गर्ने र हाल सञ्चालनमा रहेका दुईवटा पुराना भवनको रेक्टोफिटिङ्ग गर्न सहयोग गर्ने बताइएको छ।

नयाँ भवन निर्माण र रेट्रोफिटिङ गर्ने सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको छ। 

अस्पतालमा आयोजित कार्यक्रममा  स्वास्थ्य तथा जनसंख्याराज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले बेलायती सहयोग नियोगको सहयोगमा बन्न लागेको विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।

उनले देशको जनसंख्या वृद्धि भइरहे पनि दरबन्दी भने पुरानै संरचनामा रहेकोमा चिन्ता व्यक्त गरे। उनले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउन संघीय मामिला मन्त्रालयले नदिएको आरोप समेत लगाए।

प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले भक्तपुर अस्पताललाई भौतिक रुपमा सम्पन्न बनाइने बताए। 

डिएफआइडीका महानिर्देशक रिचार्ड क्लार्कले डिएफआइडिले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गरीरहेको बताए। 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!