सय मेगावाट घट्यो विद्युत् चुहावट

काठमाडौं, माघ २३ । विद्युत् प्राधिकरणमा कुलमान घिसिङ आउँदा बिजुली चुहावट २५.७८ प्रतिशत थियो । २०७३ देखि चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा आइपुग्दा विद्युत् चुहावट १०.३३ प्रतिशतले घटेको छ ।

यो भनको कूल एक हजार मेगावाटको जडित क्षमतामा एक सय तीन मेगावाट विद्युत् उत्पादन भएसरह हो । वर्तमान मूल्यमा प्रतिमेगावाट २० करोड रुपैयाँका दरले २० अर्ब ६६ करोड रुपैयाँ लगानी गरी विद्युत् उत्पादन गरेझैं हो ।

विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५-७६को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको छ । गत आर्थिक वर्ष २०७४-७५मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवको ५ महिनामै १५.४५मा झार्न प्राधिकरण सफल भएको हो । चालु आवमा विद्युत चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।

लक्ष्य पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए । अन्नपूर्ण पोस्ट दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!