४ जना मन्त्रीले सांसद्का प्रश्नमा जवाफ दिँदै

काठमाडौं, माघ २३ । प्रतिनिधिसभाको बुधबारको बैठकमा ४ जना विभागीय मन्त्रीले सांसद्का प्रश्नमा जवाफ दिँदैछन् ।

छ महिनादेखि सुल्झन नसकेको निर्मला पन्त हत्या प्रकरण, बालक अपहरणको आरोपमा झक्तपुरका प्रहरी इन्काउन्टरमा परेका अजित तामाङ र गोपाल तामाङ लगायतका विषयमा सांसद्हरुले प्रश्न दर्ता गरेका छन् ।

४ जना विभागीय मन्त्रीहरूले आठवटा प्रश्नमा जवाफ दिनेछन् । सभामुखले अनुमति दिएको अवस्थामा विषय सम्बन्धित अन्य प्रतिप्रश्न पनि सोध्न सक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा व्यवस्था गरिएको छ ।

बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री डा. युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सांसद्का प्रश्नमा जवाफ दिनेछन् ।

गृहमन्त्रीसँग जवाफका लागि चार, अर्थमन्त्रीका लागि दुई र वन तथा वातावरण तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका लागि एकरएक वटा प्रश्न दर्ता भएका छन् ।

प्रतिनिधिसभा प्रश्न शाखाका अनुसार गृहमन्त्रीका लागि निर्मला पन्तका हत्यारा पत्ता नलाग्नूको कारण माग गरिएको छ । नेपाली कांग्रेस सांसद् डिला संग्रौलाले प्रश्न दर्ता गरेका हुन् । भक्तपुरमा भएको इन्काउन्टरका विषयमा काँग्रेसकै देवेन्द्रराज कँडेलले प्रश्न दर्ता गरेका छन् ।

यस्तै सांसद्, घनश्याम खतिवडाले मोरङ लेटाङको पानी ट्याङ्कीको विद्यालयमा विषादी मिसाउनेमाथिको कारबाही प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सांसद् रामबहादुर विष्टले अछाम मंगलसेनका नमराज विष्टका हत्यार कहिले पत्ता लाग्छन् भनी प्रश्न दर्ता गर्नुभएको छ ।

यस्तै, अर्थमन्त्रीका लागि काँग्रेस सांसद् दिलेन्द्रप्रसाद बडुले दार्चुलाका सबै स्थानीय तहमा बैंकका शाखा कहिले पुग्छन् भनी प्रश्न गरेका छन् । बहुराष्ट्रिय कम्पनीले आफ्ना उत्पादन बढी बेचेमा प्रतिनिधिलाई विदेश लैजाने हुँदा मुद्रा सञ्चितीमा नै असर परेको भन्दै रोक्ने कस्ता प्रयास भइरहेका छन् भनी काँग्रेस सांसद् डिला संग्रौलाले अर्थमन्त्रीलाई प्रश्न दर्ता गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद् खगराज अधिकारीले पोखरामा प्राणी उद्यान कहिले बन्छ भनी वन तथा वातावरण मन्त्रीका लागि प्रश्न दर्ता गरेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाका लागि एउटा प्रश्न दर्ता भएको छ । सांसद् सरिता न्यौपानेले हिंसा पीडित महिलाका लागि निर्माण हुने भनिएको आवास गृह निर्माण कार्यको जवाफ माग गर्दै मन्त्री थापालाई प्रश्न दर्ता गरिएको छ ।

प्रतिनिधिसभामा हालसम्म लिखित जवाफको माग गर्दै २८ प्रश्न दर्ता भएका छन् । कूल २८ मध्ये १६ वटा प्रश्न नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले दर्ता गर्नुभएको छ । यस्तै, मौखिक जवाफका लागि ८८ प्रश्न दर्ता भएकोमा ४३ वटामा जवाफ प्राप्त भइसकेको प्रश्न शाखाले जनाएको छ । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!