पुष्पलाल लोकमार्ग निर्माण कार्यमा अवरोध

बागलुङ, माघ २२ । अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर परेको छ । सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत मास्न स्थानीयवासीले नदिएकाले सडक निर्माणमा अवरोध भएको हो ।

तेह्र किमीको उक्त खण्डमा १० किमी सडक ‘ग्राबेल’ भइसके पनि बाँकी ३ किमीको काम रोकिएको छ । अवरोध हटेमा आउँदो जेठभित्रै कालोपत्र गर्न ठेकेदार कम्पनी तयार छ । अवरोध भएका ठाउँ छाडेर बीचबीचमा कालोपत्र गर्न नमिल्ने सिद्धीसाई प्रकाश कन्सट्रक्सनका सहायक प्रमुख पुष्पकुमार शाहीले बताए ।

‘अवरोध तत्काल हट्नुपर्छ, आयोजनाको यसमा ध्यान जाओस्’ उनले भने, ‘हामी वैशाख, जेठभित्रै कालोपत्र गर्न तयार छौं ।’ उनका अनुसार सडक विस्तारका लागि १०÷१२ घरटहरा हटाउनुपर्ने अवस्था छ ।

यस्तै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा सञ्चालित खानेपानी आयोजनाका पाइपले पनि काममा समस्या निम्त्याएको छ । आयोजनाले सडक खन्दा क्षति भएका पाइप किन्न र ठाउँ सार्न संस्थालाई रु ३३ लाख बुझाइएको थियो ।

ठेकेदार कम्पनीले संस्थाले बेलैमा काम नगरेको आरोप लगाएको छ । ‘दुईसय मिटर जतिमा अझै पाइप सार्न बाँकी छ’, ठेकेदार कम्पनीका सुपरभाइजर गणेश सुवेदीले भने । केही ठाउँमा स्थानीय खानेपानी आयोजनाका ट्याङ्कीसमेत हटाउनुपर्ने देखिएको छ ।

संस्थाका प्रबन्धक हिमाल शर्माले पहिले सहमति भएअनुसार पाइप सार्ने काम सकिएको बताए । ‘अझै केही ठाउँमा सार्नुपर्ने देखिएको छ”, उनले भने, ‘आयोजनाले थप बजेट या पाइप उपलब्ध गराए तत्काल काम हुन्छ ।’

सोही खण्डमा पर्ने बिजुलीका खम्बा सार्न आयोजनाले विद्युत् कार्यालयलाई रु ८ लाख उपलब्ध गराएको थियो । बागलुङ–अछेते खण्डमा खम्बा हटाइएको र अछेतेदेखि–बयलडाँडा खण्डमा खम्बा हटाउन बाँकी छ ।

मुआब्जा र क्षतिपूर्तिको टुङ्गो समयमै नलाग्दा मापदण्ड विपरीतका संरचना हटाउन ढिलाइ भएको हो । लोकमार्गका इञ्जिनीयर सरोज ढकालले अब काम नरोकिने बताए । ‘धेरैको क्षतिपूर्ति आइसकेको छ, केहीको आउन बाँकी छ”, उनले भने, ‘विवादित घरजग्गासँगै अन्य अवरोध हटाएर काम अघि बढाउँछौं ।’

लोकमार्गको बिहुँ–घोडाबाँधे खण्डमा पनि कालोपत्रका लागि तयारी गरिएको छ ।

उक्त खण्ड निर्माणको जिम्मा ‘सूर्य कन्सट्रक्सन’ले लिएको छ । सडक विस्तार, नाली, पर्खाल र ‘ग्राबेल’को काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । दुवै खण्डको ठेक्का सम्झौताको म्याद आउँदो माघसम्म छ ।

जिल्लाको पश्चिम क्षेत्रमा लोकमार्ग कालोपत्रे भइसक्दा पनि सदरमुकामसँग जोडिएको खण्ड अझै कच्ची छ । पश्चिम बुर्तिबाङदेखि पूर्वी रुकुमको सीमा पाती हाल्नेसम्म ४५ किमी सडक पनि कालोपत्र हुन बाँकी छ ।

उक्त खण्डको निर्माण ‘कालिका प्यासेफिक’ र ‘इसिआर–कन्काई’ ठेकेदार कम्पनीको जिम्मामा छ । घोडाबाँधे–बुर्तिबाङ ६४ किमी भने कालोपत्रे भइसकेको छ । यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा लोकमार्गको बागलुङ खण्ड पूरै कालोपत्रे हुने आयोजनाले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!