क्यान निलम्बन फुकुवा चाँडैः मन्त्री विश्वकर्मा

काठमाडौँ, माघ २२ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिट्टै नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्गचित्र अनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गरे ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर देखिएको क्यान विवादले उग्ररूप लिएपछि आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै मन्त्री विश्वकर्माले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिलाइ भएको बताए ।

सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माको भनार्इ थियो ।

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, निलम्बनमा परेसँगै क्यानले खेलाडीको तलबसमेत रोकेको छ ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युएइविरुद्धको टि–२० र एक दिवसीय शृङ्खला जितेर आएका खेलाडीलाई जनही रु पाँच लाख दिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले सो अवसरमा जानकारी दिए ।

खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले खेलाडीलाई खेलेर भविष्य सुनिश्चित गर्नसक्ने अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!