कमाईमा ‘बाहुबली २’ भन्दा अगाडि ‘उरी’

काठमाडौं, माघ २२ । बक्सअफिसमा शानदार प्रदर्शन गरिरहेको अभिनेता विक्की कौशलको चलचित्र ‘उरीःद सर्जिकल स्ट्राइक’ को नाममा एक ठूलो रेकर्ड दर्ता भएको छ ।

चलचित्रले प्रभास स्टार सुपरडूपर हिट चलचित्र ‘बाहुबली २’लाई कमाईको मामलामा उछिनेको छ । रिलिजको २३औं र २४औं दिन ‘उरी’ ले ‘बाहुबली २’ भन्दा पनि बढी कमाई गरेको छ ।

तरण आदर्शको ट्वीटका अनुसार, ‘उरीः द सर्जिकल स्ट्राइक’ ले २३औं दिन ६ करोड ५३ लाखको कारोबार गरेको छ, जबकि रिलिजको २३औं दिनमा ‘बाहुबली २’ले ६ करोड ३५ लाखको विजनेश गरेको थियो ।

यस्तै, २४औं दिनमा ‘उरी’ ले ८ करोड ७१ लाखको कमाई गरेको छ, जबकी ‘बाहुबली २’ ले ७ करोड ८० लाखको कारोबार गरेको थियो ।

‘उरी’ ले बक्सअफिसमा प्रदर्शनको २४ औं दिनसम्ममा भारतबाट मात्र १ सय ८९ करोड ७६ लाख कमाउन सफल भएको छ । चलचित्रले यही हप्ता दुई सय करोडको आँकडा पार गर्ने फिल्म पण्डितहरुको विश्वास छ । आदित्य धर निर्देशित यस फिल्ममा यामी गौतम, मोहित रैना, कीर्ति कुल्हाड, परेश रावल लगायतको पनि अभिनय छ ।

२०१६ मा भारतीय सेनाद्वारा पाकिस्तानमा पसेर आतंककारीमाथि गरेको सर्जिकल स्ट्राइकको घटनामा फिल्म आधारित छ । फिल्ममा विक्कीको डाइलग डेलिभरी र एक्सन ‘पर्फेक्ट’ छ । यसअघि उनले ‘राजी’ मा पाकिस्तानी सेनाको भूमिका निभाएका थिए भने ‘सञ्जु’मा रणवीर कपूरको साथीको भूमिकामा थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!