‘आजभोलि हलमा दर्शक होइन, झिँगा धपाउँदै छौं’ : कायस्थ

काठमाडौं, माघ २२ । यसवर्षको गएको १० महिनामा करीब ८० बढी नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् । तर, बितेको १० महिनामा १० वटा चलचित्र पनि बक्स अफिसमा सफल छैनन् । ‘नाइँ नभन्नू ल ५’ र ‘जय भोले’ले लगानी सुरक्षित गरेर निर्मातालाई चिया खाने पैसा पनि दिए । चलचित्र ‘छक्का पञ्जा ३’ ले त बक्स अफिसमा पैसाको वर्षात नै गर्‍यो ।

‘इन्टु मिन्टु लण्डनमा’, ‘रामहानी’, ‘प्रसाद’ चलचित्रले पनि बक्सअफिसमा राम्रै पैसा छापे । तर, बाँकी प्रदर्शनमा आएका चलचित्रका निर्माताले करोडौंको डंका फुकेपनि पोस्टरमा लगानी गरेको पैसा समेत फिर्ता पाउन सकेनन् । ‘छक्का पञ्जा’ सिरिजले करोडौं कमाएको देखेर फिल्म बनाउने धेरै निर्माताको यसवर्ष पनि बिल्लीबाठ भएको छ ।

वर्ष २०७५ को पुस र माघको दोस्रो सातासम्म मात्रै आधा दर्जन बढी चलचित्र रिलिज भइसकेका छन् । तर, कुनै चलेनन् । अहिले हलमा तीन फिल्म छन्, ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ । यी तीन फिल्मको अवस्था पनि दयनिय रहेको वितरक तथा हल सञ्चालक गोपालकाजी कायस्थको फेसबुक स्टाटसले स्पष्ट पार्छ ।

जडीबुटीमा रहेको पुष्पाञ्जली हलका मालिक समेत उनले एक स्टाटस लेख्दै अहिले हलमा दर्शक नभएर झिँगा धपाउँदै बसिरहेको बताएका छन् । उनले आफ्नो तश्बिरसँगै क्याप्सनमा लेखेका छन्, ‘हलमा दर्शक नभएर झिँगा धपाउँदै । हलमा दर्शक आउनका लागि फागुन १७ नै कुर्नुपर्ने भो । जय ‘क्याप्टेनु ।’

उनले मात्र होइन हाँस्य कलाकार तथा ‘छक्का पञ्जा’ सिरिजका अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि हलमा दर्शकको खडेरी लागेको भन्दै व्यंग्य गरेका छन् । प्रदर्शनरत तीन चलचित्रलाई व्यंग्य गर्दै उनले फेसबुकमा एक स्टाटस लेखेका छन्, ‘दर्शक हराएको सुचना…।’ उनको यस स्टाटसले पनि हलमा दर्शकको संख्याभन्दा हलका स्टाप धेरै रहेको बताउँछ ।

शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्मको माउथ पब्लिसिटी राम्रो छ । फिल्म हेरेका दर्शकले नाक खुम्च्यिाएर निस्किएका छैनन् । तर, फिल्मको व्यापारले भने निर्माताको होस् हवास उड्न थालेको छ । जाडोको कारण दर्शक हलमा आएनन् भनेर चित्त बुझाउने बाटो पनि छैन । आखिर किन दर्शकलाई हलसम्म पुग्ने जाँगर चलेको छैन ? यो बुझ्न न निर्माता न त हल सञ्चालकले नै सकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!