सरकारको घोषणाः प्रत्येक खेलाडीलाई ५–५ लाख प्रदान

काठमाडौं, माघ २२ । यूएईसँगको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही ५–५ लाख नगदसहित सम्मान गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो पकट एक दिवसीय र टी–२० सिरिज जित्दै स्वदेश फर्किएको टोलीलाई सम्मान गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले भने, ‘दुवै सिरिज जितेर स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनही ५–५ लाख सहित सम्मान गर्ने निर्णय भएको हो।’ विष्टका अनुसार सरकारले घोषणा गरेको पुरस्कार रकम राष्ट्रपति वा प्रधानमन्त्रीको उपस्थितिमा चाडैं प्रदान गरिनेछ।

उनका अनुसार खेलाडीहरू अहिले धनगढी प्रिमियर लिग (डीपीएल) को तयारीमा लागिसकेकाले समय मिलाएर जतिसक्दो चाडो घोषणा गरिएको रकम उपलब्ध गराइने छ ।

दुवै उपाधि जित्दै स्वदेश फर्किएको टोलीलाई हिजो अपरान्ह त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको थियो। विमानस्थलमा खेलाडीको स्वागतका लागि पहिलो पटक रेड कार्पेट समेत ओछ्याइएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!