पूर्वमन्त्री न्यौपानेविरुद्ध साढे ३१ करोड बिगोसहित भ्रष्टाचार मुद्वा दायर

काठमाडौं, माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित ९ जनाविरुद्ध जनही ३१ करोड ५२ लाख बिगो दावीसहित भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

भृकुटीमण्डपस्थित फनपार्ककको जग्गा न्यौपाने मन्त्री हुँदा वदनियतपूर्ण तरिकाले ठेकेदारलाई भाडामा लगाएको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

न्यौपाने महिला बालबालिका तथा समाजकल्याणमन्त्री हुँदा २०६० साल भदौ २० गते फनपार्क क्षेत्रको ६० रोपनी जग्गा प्रतिरोपनी प्रतिमहिना ९ हजार २ सय ५० रुपैयाँमा ठेकेदारलाई भाडामा दिने निर्णय भएको थियो ।

प्रचलित मापदण्ड र प्रकृया विपरित बदनियतपूर्ण तरिकाले ठेकेदारलाई जग्गा भाडामा दिँदा अहिलेसम्म ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा नोक्सान भएको देखिएकाले सोही बिगो माग दावी सहित मुद्धा दायर गरिएको अख्तियारका सह प्रवक्ता रामेश्वर दंगालले बताए ।

अख्तियारले परिषदका तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज विहारीप्रसाद चौधरी, सदस्य सचिव इन्जिनियर रविन्द्रकुमार यादव भन्ने रविन्द्र यादव, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण विरुद्ध जनही ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा बिगो दावी सहित मुद्धा दायर गरेको हो ।

यस्तै फनपार्कका प्रमुख संचालक रविन्द्र गुरुङ र मेला संचालक टेकबहादुर गुरुङ विरुद्ध पनि जनही ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा बिगो दावी सहित मुद्धा दायर गरेको सह प्रवक्ता दंगालले बताउनुभयो ।

यस्तै, परिषदका तत्कालिन कोषाध्यक्ष रत्न गाहा मगर, निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वार, कानुनी सल्लाहकारद्वय प्रेमसिंह धामी र जगदेव चौधरी विरुद्ध पनि भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!