किन पुरुषमा भन्दा महिलामा बढी क्यान्सर हुने गर्छ ? यस्तो छ अध्ययन

भरतपुर, चितवन । क्यान्सर सरुवा रोग होइन । यो रोग गरिब वा धनीका साथै स–साना बालबालिकादेखि वृद्ध–वृद्धासम्म सबै उमेरका मानिसको कुनै पनि अङ्गमा लाग्न सक्छ ।

हाम्रो शरीरमा रहेका करोडौं स–साना कोष–कोषिकाहरूमध्ये दिनहुँ कतिपयको वृद्धि हुने, नयाँ बन्ने र मर्ने क्रम निरन्तर रहन्छ । यी नयाँ बन्ने कोष–कोषिकाहरूको वृद्धि क्रम सामान्य अवस्थामा (leqDNA (Deoxyribonucleic Acid) बाट नियन्त्रण भएको हुन्छ । यसरी नियन्त्रणभित्र रही वृद्धि हुने कोष–कोषिकाहरूको आकार र काम पनि मिल्दोजुल्दो हुन्छ । यद्यपि कतिपय कारणबाट त्यसमा खराबी आए कोष–कोषिकाहरूको वृद्धि अनियन्त्रित रूपमा भएर बिस्तारै स–साना गिर्खा बन्छन् ।

यस्ता गिर्खा दुई प्रकारका हुन्छन्–

शरीरलाई नोक्सान नगर्ने र अन्यत्र नफैलने किसिमका गिर्खालाई Benign Tumor भनिन्छ । कोठी, मुसा तथा छालाभित्र हुने बोसोका डल्ला यसका उदाहरण हुन् ।

अर्को प्रकारका गिर्खा भने शरीरलाई नोक्सान गर्ने, एक ठाउँबाट अर्का ठाउँमा सर्नसक्ने दुर्गुण भएका हुन्छन् । यस्ता गिर्खालाई Malignant Tumor, Malignant Neoplasm or Cancer तथा नेपालीमा अर्बुद रोग भनिन्छ । जस्तै स्तनमा क्यान्सर लागे स्तनको क्यान्सर, फोक्सोमा लागे फोक्सोको क्यान्सर, हाडमा लागेमा हाडको क्यान्सर आदि । रगतको क्यान्सरमा भने गिर्खा नभई रक्तकोषिकामा असामान्य परिवर्तन देखापर्छ ।

विश्वमा क्यान्सरको अवस्था

क्यान्सर रोग हाल विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष १ करोड ४१ लाख क्यान्सरका नयाँ बिरामी देखिन्छन् र त्यसमा करिब ८२ लाख मानिसको मृत्यु हुने गरेको छ । यसरी बढ्दै गए सन् २०३० मा उक्त संख्या झन्डै दोब्बर अर्थात् २ करोड ६४ लाख नयाँ क्यान्सर रोगी हुने अनुमान गरिएको छ, जसमध्ये ७० प्रतिशतभन्दा बढी हाम्रोजस्तो विकासशील देशमा देखिनेछ । हाल विश्वमा देखिएका प्रमुख क्यान्सरमध्ये फोक्सो, स्तन, कोलोरेक्टल क्यान्सर आदि हुन् । विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत कारकतत्व बनेको क्यान्सर रोगबाट मृत्यु हुनेहरूको संख्या विकसित देशहरूमा दोस्रो स्थानमा आउँछ भने विकासशील देशहरूमा तेस्रो स्थानमा आउँछ ।

नेपालमा क्यान्सरको अवस्था

नेपालमा पनि क्यान्सरको समस्या निरन्तर बढिरहेको छ । जनचेतनाको कमी, अज्ञानता एवं क्यान्सरको निदान गर्ने स्वास्थ्य संस्थाहरूको अभावले गर्दा क्यान्सर अस्पतालमा उपचारका लागि आइपुग्ने अधिकांश बिरामी रोग फैलिसकेको अवस्थामा हुन्छन् । यस्तो अवस्थामा उपचार गर्न बिरामीले लाखौं खर्च गरे पनि रोग निको हुने सम्भावना कम हुन्छ र अन्त्यमा धेरैको मृत्यु परिवारलाई ऋण बोकाएर हुन्छ । क्यान्सरको जति छिटो अर्थात् सुरुको अवस्थामा उपचार गर्न सकियो रोग निको हुने सम्भावना त्यतिनै बढी हुन्छ ।

हाम्रो देशमा हालसम्म कति क्यान्सर रोगी छन् र वर्षेनी कतिको मृत्यु हुन्छ भन्ने आधिकारिक तथ्यांक नभए पनि विश्व स्वास्थ्य संघकाअनुसार वार्षिक करिब ४० हजार नयाँ क्यान्सर रोगी थपिन्छन् भने हाल नेपालमा १ लाखभन्दा बढी क्यान्सरका रोगी भएको अनुमान गरिन्छ ।

भरतपुर, चितवनस्थित नेपालको एकमात्र राष्ट्रिय क्यान्सर अस्पताल बी।पी। कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगबाट मुख्य ७ वटा अस्पतालमा क्यान्सरको निदान र उपचार सुविधा उपलब्ध गराइन्छ । ती हुन्–काठमाडौंको वीर, शिक्षण, कान्ति बाल, भक्तपुर क्यान्सर अस्पताल, धरानको बी।पी।कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स तथा पोखराको मणिपाल मेडिकल कलेज । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्यान्सरका बिरामीहरूको सन् २००३ देखि २०१२ सम्मको १० वर्षको तथ्यांक हेर्दा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, लिम्फ ग्रन्थिको क्यान्सर, आमाशयको क्यान्सर, रगतको क्यान्सर, घाँटीको क्यान्सर, मस्तिष्कको क्यान्सर, दिसा गर्ने नलीको क्यान्सर, छालाको क्यान्सर आदि प्रमुख रूपमा देखिएका छन् ।

सन् २००३ मा जम्मा ३ हजार २ सय ५१ क्यान्सरका बिरामी देखिएका थिए भने १० वर्षपछि ५० प्रतिशतभन्दा बढी ७ हजार २ सय १२ क्यान्सरका बिरामी देखिएका थिए । यसमध्ये बढी महिलामा ५३ दशमलव ४ प्रतिशत तथा पुरुषमा ४६ दशमलव ६ प्रतिशत थिए । पुरुषमा ६० देखि ६४ वर्षमा तथा महिलामा कम उमेरमा ५० देखि ५४ वर्षमा बढी क्यान्सर देखिएको छ ।

पुरुषमा फोक्सो, आमाशय र कोलोरेक्टल आदि क्यान्सर तथा महिलामा पाठेघर मुख, स्तन र फोक्सो आदिको क्यान्सर बढी देखिएको छ । यी बढी देखिएका क्यान्सरलाई रोकथाम गर्न सकिन्छ र सुरुको अवस्था पत्ता लगाएर उपचार गरे निको पार्न सकिन्छ । विकसित देशहरूमा पुरुषहरूको तुलनामा महिलाहरूमा क्यान्सरको संख्या कम हुने गरेको छ । नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी छ । विकसित देशहरूमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरहरू स्क्रिनिङबाट नियन्त्रण भएको हुनाले पुरुषहरूको तुलनामा महिलामा कम क्यान्सर देखिएको हुनसक्छ ।

उक्त तथ्यांकअनुसार विश्वव्यापी रूपमा बढिरहेको यो रोग नेपालमा पनि जटिल समस्याका रूपमा देखा पर्दैछ । यो रोगको नियन्त्रणका लागि प्राथमिकताका साथ समन्वयात्मक ढंगले काम गरी क्यान्सर रोकथाम, नियन्त्रण तथा उपचारका कार्यक्रमहरू संचालन नगरे आगामी दिनमा यो रोग अझ भयावह हुने भएकाले सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।

(७ वटा अस्पतालमा गरिएको १० वर्षको अध्ययन)

किशोरकुमार प्रधानाड्ड, प्रमुख

क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

एजेन्सीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!