नेपाललाई ऐतिहासिक सफलता, टी–२० सिरिजमा पनि यूएई पराजित

काठमाडौं, माघ २० । यूएई विरुद्धको टी–२० सिरिज पनि नेपालले नै जितेको छ । आज भएको अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले २–१ ले सिरिज जितेको हो । यसअघि नेपालले यूएई विरुद्धको एकदिवसीय सिरिज पनि २–१ ले नै जितेको थियो ।

पानी परेपछि १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रनको उत्कृष्ट पारी खेल्यो । नेपालका लागि पवन सरार्फ शून्य, ज्ञानेन्द्र मल्ल ११, दीपेन्द्रसिंह ऐरी २, कप्तान पारस खड्का २९, सन्दीप जोरा २८, विनोद भण्डारी २१, करण केसीले १० रनको योगदान गर्दा नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाउन सफल भयो । यूएईका सुल्तान अहमद र मोहमद नाभिदले दुई–दुई विकेट लिए ।

१०५ रनको लक्ष्य पछ्याएको यूएईले सुरुआत राम्रो गरेको थियो । पहिलो विकेटका लागि २९ रनमो पहिलो विकेट गुमाएको थियो । पहिलो ओभरमै सन्दीप लामिछानेले २० रन खर्चँदा नेपाल दबाबमा परेको थियो । दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले नेपालाई पहिलो सफलता दिलाएका थिए ।

टिमको स्कोर ५७ पुग्दा गुलाम शैबर आउट भए । आक्रामक व्याटिङ गरेका शैबरको व्यक्तिगत २५ रन हुँदा अभिनाश  बोहराको बलिङमा बोल्ड हुन पुगे । तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका थिए । उनले मोहमद उस्मानलाई २ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गरे । ३० रन बनाएर खेलिरहेका शाइमान अनवारलाई अभिनाश बोहराले आउट गर्दा यूएईले टीमको स्कोर ७२ पुर्याएको थियो ।

करण केसीले नै मोहमद नाभिदलाई आउट गरे । सातौं सफलताको रुपमा ललितनारायण राजबंशीले सिपी रिजवानलाई आउट गरेका थिए । यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि करण केसी, ललितनारायण राजबंशी र अभिनाश बोहराले दुई–दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!