डीपिएलः धनगढी स्टार्सले भित्र्यायो मुस्ताफा र त्रिबेदीलाई

काठमाडौं, माघ २० । धनगढी प्रिमियर लिग (डीपिएल) मा धनगढी स्टार्सले रोहन मुस्तफा र सागर त्रिबेदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ । आइतबार घरेलु टोली धनगढीले आफ्ना २ विदेशी खेलाडीको नाम सार्वजनिक गर्दै टोलीमा अनुबन्ध गरेको हो ।

मुस्तफा यूएईका कप्ता हुन् भने त्रिबेदी भारत मुम्बईका प्रथम श्रेणी क्रिकेटर हुन् । दायाँ हाते अलराउन्डर मुस्तफाले युएई राष्ट्रिय टिमको लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी–२० अन्तर्रष्ट्रिय क्रिकेट खेल खेलिसकेका छन् । उनले एकदिवसीयमा ६४२ रन तथा टी–२० मा ४११ रन बनाएका छन् । त्यस्तै बलिङतर्फ उनले एकदिवसीयमा २८ विकेट र टी–२० मा १९ विकेट लिएका छन् ।

सागर त्रिबेदी सन् २०१५ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन् । उनी पनि अलराउन्डर हुन् । दायाँ हाते फास्ट बलर र बायाँ हाते ब्याट्सम्यान हुन् । उनले मुम्बई टिमको लागि खेलिसकेका छन् ।

टिम मालिक कृष्ण बोहराले आफ्नो टिमलाई सन्तुलित बनाउन दुई विदेशी खेलाडी ल्याएको बताए । उनले भने, ‘हाम्रो टिम सन्तुलित बनाउने प्रयास स्वरुप दुई विदेशी खेलाडीहरुलाई ल्याएका हौँ ।’

धनगढी स्टार्स टिमको रणनीतिक खेलाडीमा सोमपाल कामी रहेका छन् । त्यस्तै, अन्य खेलाडीमा पवन सर्राफ, सुनिल धमला, अमित श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरिबहादुर चौहान, दिपेश श्रेष्ठ, राजु रिजाल, सन्दीप रजाली, रोबिन क्षेत्री, धिरज शाही, कृष्ण ऐयर रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!