हिमपातको कारण जुम्लादेखि मुगुको गमगढीसम्म सडक अवरुद्ध, अझै खुल्न सकेन सडक

जुम्ला, माघ २० । यसवर्ष परेको तेस्रो पटकको हिमपातले जुम्लादेखि मुगुको गमगढीसम्म जाने सडक एक सातादेखि अवरुद्ध भएको छ । सडकमै बाक्लो हिउँ थुप्रिएका कारण सडक अवरुद्ध छ । यातायात चल्न सकेको छैन । सडक डिभिजन कार्यालयले डोजरको प्रयोग गरी हिउँ पन्छाउँदै छ ।

सडक डिभिजन कार्यालय जुम्लाले चार दिनदेखि बाटो खुलाउन डोजर प्रयोग गरेको इन्जिनियर श्रवणकुमार महताराले जानकारी दिए । उनका अनुसार बाक्लो हिमपात भएपछि सडक बन्द भएकाले खुलाउन डोजर नै प्रयोग गर्नुपरेको हो । सडकको कतिपय खण्डमा अझै झन्डै दुई फिट हिउँ थुप्रिएको छ ।

यसैगरी हिउँ पञ्छाउँदै बाटो खुलाउन सडक डिभिजन कार्यालयको डोजरले नाग्म गमगढी राजमार्गको हिउँ पञ्छाइरहेको छ । हिमपात भइरहने र रोकिने कारणले डोजरले पनि हिउँ पन्छाउन सजिलो छैन । पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले असजिलो भएको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले डोजरले हिउँ पन्छाएर सडक खुलाउन प्रयास भइरहे पनि हिमपात भइरहँदा असजिलो भएको जानकारी दिए । उनका अनुसार हिउँ पग्लिन ढिला भएपछि सडक डिभिजन कार्यालयसँग समन्वय गरेर डोजरले नै हिउँ पञ्छाउन थालिएको हो ।

यसैगरी हिमपातका कारण बाटो अवरुद्ध भएपछि यात्रुहरू मुगु र जुम्लामा रोकिएका छन् । जुम्लाबाट मुगु गएका तेजेन्द्र हितानले बाटो अवरुद्ध हँुदा मुगुमै एक साता बस्नुपरेको वाध्यता सुनाउनुभयो । अहिले हिउँले बाटो रोकिएपछि नाग्म गमगढी राजमार्ग बन्द भएको छ । पैदलमार्गमा खासै सुविधायुक्त होटलहरूसमेत व्यवस्था नभएका कारण पैदलयात्रुहरूलाई पनि कठिन भएको छ । मुगुबाट जुम्ला आउन पैदलयात्रीलाई झन्डै चार दिन लाग्छ ।

सिङ्जाको गुठिज्युला भुलभुले घुच्चिलेकदेखि पिनासम्मको करिब ३० किलोमिटर हिउँले ढाकिएको छ । सडक खुलाउन चार दिनदेखि प्रयत्न भइरहेको मुगुका प्रजिअ अधिकारीले जानकारी दिए । शनिबार भने घाम लागेका कारण बढी काम हुने आशा गरिएको उनले जानकारी दिए । प्रजिअका अनुसार आइतबार डोजरले भुलभुले क्रस गर्ने सम्भावना छ । अर्कोतिर नाग्म –गमगढी सडक खण्डमा हिउँ पग्लेको स्थानमा पनि सडक हिलाम्मे भएको छ । यसैगरी एक सातासम्म सडक अवरुद्ध भएकाले मुगुमा दैनिक उपभोग्य वस्तुहरूसमेत अभाव हुन थालेको ब्यापारीको भनाइ छ ।

सडक क्षेत्रमा जथाभावी पानी र हिउँले भासिने भएकाले समेत धेरै स्थानमा समस्या भएको छ । हिउँले पुरिएको सडकमा तलमाथि बलियो पर्खाल नभएका कारण विभिन्न स्थानमा पानी तथा हिउँ जम्ने समस्या समाधान गर्नेगरी सडक बिस्तार हुनुपर्नेमा यात्रुहरू तथा सवारी चालकहरू बताउँछन् । यो मार्ग हुँदै रारा जाने पर्यटकहरू समेत हिमपातका कारण प्रभावित छन् ।

जनप्रतिनिधिहरूले भने सडकको पानी निकाससहित गुणस्तर कायम नहुँदा हिउँ पन्छाउन पनि समस्या भएको बताउँछन् । गुणस्तरीय सडकका लागि संघीय सरकारले नै बजेट विनियोजन गर्न आवश्यक रहेको जुम्लाका प्रदेश प्रदेश सभासद पदम रोकायाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!