आइतबारदेखि उपसचिव तहका कर्मचारी समायोजन

काठमाडौं, माघ २० । सरकारले आजदेखि उपसचिव तहका कर्मचारी समायोजन गर्दैछ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने दुई हजार उपसचिवलाई सरकारले आइतबारदेखि समायोजन पत्र दिने भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार कर्मचारीले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजन पत्र बुझ्न थाल्ने छन् ।

‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार फाराम भर्दा प्रयोग गरेका इमेल र राहदानीका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गर्न सक्ने बताइएको छ।

संघमा समायोजन भएका उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयले संघ अन्तर्गतका विभिन्न कार्यालयमा खटाउने छ ।

प्रदेशमा समायोजन भएकाहरू भने सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुनेछन् । स्थानीय तहमा जाने कर्मचारीलाई पनि त्यही अनुसारको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ ।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ। सरकारले तीनै तहमा समायोजनका गर्नका लागि गएको पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो ।

सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्दैछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!