रुस पनि अलग भयाे एेतिहासिक सन्धिबाट, नयाँ क्षेप्यास्त्रकाे विकास गर्ने घाेषणा

रुसले मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतयुद्धकालीन आइएनएफ सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेको छ।

संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेपछि रुसले पछिल्लो कदम चालेको हो।

राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले अब नयाँ क्षेप्यास्त्रहरूको विकास गर्ने बताए।

यसअघि शुक्रवार अमेरिकाले औपचारिक रूपमा आइएनएफ सन्धि अन्तर्गतका आफ्ना दायित्वलाई निलम्बन गर्न लागेको घोषणा गरेको थियो।

आइएनएफ सन्धिको रुसले उल्लङ्घन गर्दै आएको अमेरिकाले लामो समयदेखि आरोप लगाउँदै आएको छ।

सन् १९८७ मा संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत सङ्घबीच भएको सो सन्धिले सानो र मध्यम दूरीको क्षेप्यास्त्रको प्रयोगमा दुवै मुलुकमाथि प्रतिबन्ध लगाएको छ।

 

शनिवार पुटिनले भने, “हाम्रा अमेरिकी साझेदारहरूले सो सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेको घोषणा गरेका छन्, हामीले पनि त्यही गरिरहेका छौँ।”

यद्यपि सन्धिबारेका आफ्ना प्रस्तावहरू यथास्थितिमा रहेको र वार्ताका ढोकाहरू खुला रहेको उनले बताए।

यसअघि उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव एन्स स्टोल्टनबेर्गले बीबीसीलाई भने, “सबै [युरोपेली] साझेदारहरू संयुक्त राज्य अमेरिकाको यो कुरामा सहमत छन् कि रुसले लामो समयदेखि त्यो सन्धिको उल्लङ्घन गर्दै आएको छ।”

“उनीहरूले युरोपमा परमाणु क्षमता भएका अझ बढी नयाँ क्षेप्यास्त्रको विकास गरिरहेका छन्।”

रुसले चाहिँ आइएनएफ सन्धिको उल्लङ्घन गरेको आरोप अस्वीकार गर्दै आएको छ।

रुसमाथि के आरोप छ?

अमेरिकीहरू भन्छन्, रुससँग आइएनएफ सन्धिले प्रतिबन्ध लगाएको ५०० देखि ५,५०० किलोमिटरसम्म दूरीको नयाँ क्षेप्यास्त्र रहेको हामीसँग प्रमाण छ।

केही अमेरिकी अधिकारीहरूका अनुसार नेटोले एसएससी-८ भन्ने क्षेप्यास्त्रहरू पनि रुससँग छ।

 

ती प्रमाणहरू वाशिङटनका नेटो साझेदारहरू समक्ष पेश गरिएको र सो मुद्दामा तिनीहरूले अमेरिकालाई समर्थन गरेका छन्।

गत डिसेम्बरमा ट्रम्प प्रशासनले रुसलाई आइएनएफ सन्धिप्रतिको दायित्व पालना गर्नेतर्फ फर्कन ६० दिने म्याद दिँदै त्यसो नभए आफू पनि पछि हट्ने जनाएको थियो।

अब के होला?

शनिवार आफ्ना विदेश तथा रक्षा मन्त्रीहरूसँगको बैठकमा राष्ट्रपति पुटिनले अब नयाँ अस्त्रहरूको विकास शुरू गरिने बताए।

यद्यपि महँगा अस्त्रहरूको विकास गर्ने होडबाजीमा मस्को नलाग्ने पुटिनको भनाइ छ।

उनले संयुक्त राज्य अमेरिकाले पहिला सानो र मध्यम दूरीका क्षेप्यास्त्र परिचालन नगरेसम्म रुसले नगर्ने बताए।

अस्त्रसम्बन्धी यस्तो होडबाजी युरोपेली देशहरूका लागि ठूलो चासोको विषय हुनेछ।

-बिबिसीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!