यस्तो छ कीर्तिमानी सन्दीप जोराको क्रिकेट यात्रा

कञ्चनपुर, माघ १९ । उनी खेतका गह्रामा काठको ब्याट बनाएर क्रिकेट खेल्थे । गाउँका साथीभाइ जम्मा पारेर दिनभरि क्रिकेटमै रमाउँथे । पढाइमा ध्यान नदिएको भन्दै अभिभावक खुबै रिसाउने गर्थे । तर उनले त्यो काठको ब्याट छोडेनन् ।

खेतका गह्रा र बाटोमा खेलेर क्रिकेटमा उदाएका कञ्चनपुरको भीमदत्त नगरपालिका ४ गोबरैयाका तिनै सन्दीप जोराले विश्व कीर्तिमान बनाउँदा घरपरिवारमा खुसीको सीमा छैन । घरमा बधाई दिनेको भीड लागेको छ ।

संयुक्त अरब ईमिरेट्स (यूएई) संँग बिहीबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियको ‘डेब्यु’ खेलमै सन्दीपले कम उमेरमै अर्धशतक बनाउने विश्व कीर्तिमान कायम गरेका हुन् । नेपालले खेल हारे पनि डेब्यु खेलमै गरेको सन्दीपको प्रदर्शनले सबैको मन जितेको छ । १७ वर्ष १ सय ३ दिनको उमेरमा उनले ४६ बलमा ३ चौका र १ छक्कासहित ५३ रन बनाएका थिए ।

शुक्रबार सन्दीपको घरछेउमै विवाह थियो । आमा राधादेवी त्यहाँ पुग्दा चिनेजानेका सबैले उनलाई बधाई दिए । कतिपयले त उनीतर्फ इशारा गर्दै ‘सन्दीपकी आमा’ भन्दै देखाइरहेका थिए । ‘तपाईको छोराले राम्रो खेल्यो । गाउँठाउँ र देशकै नाम राख्यो भन्दै सबैले बधाई दिए,’ उनले सुनाइन्, ‘घरमा पनि आफन्तहरू आएर बधाई दिइरहेका छन् ।’ उनलाई क्रिकेटबारे खासै जानकारी छैन । बिहीबार छोराको खेल छ भन्ने थाहा भए पनि हेर्न भ्याइनन् ।

राधादेवीले सन्दीपसँग खेल हुनुभन्दा अगाडि कुरा गरेकी थिइन् । तर उनले खेलभन्दा पनि खानपिन र सन्चो बिसन्चोबारे सोधिन् । साँझ जब गाउँलेहरू आएर बधाई दिन थाले त्यसपछि मात्रै उनले छोराले राम्रो खेलेको थाहा पाइन् । साँझ सबै परिवार एकै ठाउँमा बसेर खुसी साटासाट गरेको उनले बताइन् । ‘उसका बुवा घरमा नभए पनि काका र जेठा बुवा र दाजुभाइसहित सबै एकै ठाउँमा बस्यौं,’ उनले भनिन्, ‘सेल पुरी पकाएर सबैलाई खुवाएँ ।’

सन्दीपले राम्रो खेलेको थाहा भए पनि कीर्तिमान नै बनाएको विषयमा जोरा परिवारलाई थाहा थिएन । ‘मैले त साँझ बीबीसीमा अन्तर्वार्ता सुनेर थाहा पाएँ,’ सन्दीपका काका तर्कराजले भने, ‘त्यसपछि सोधीखोजी गर्दा उसले त रेकर्ड नै बनाएछ ।’ क्रिकेटप्रति सानैदेखिको लगावका कारण सफलता दिलाएको उनले बताए ।

सन्दीपका बुवा चितेन्द्र भारत गुजरातमा सुरक्षागार्डको काम गर्छन् । नेपाल प्रहरीबाट अवकाशप्राप्त उनी हालै कामको खोजीमा भारत पसेका हुन् । जोरा परिवार २०५४ सालमा डडेलधुराको भागेश्वर बाट यहाँ बसाइँ सरेको हो । यो समाचार भवानी भट्टले कान्तिपुर दैनिकमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!