नेपालगञ्ज सबैभन्दा प्रदुषित, कुन ठाउँ कती सफा ?

काठमाडौं। मुलुकका १० स्थान उच्च प्रदूषणमा रहेको पाइएको छ । पानी परेपछि प्रदूषणको मात्रा कम हुँदासमेत १० स्थानमा प्रदूषण उच्च हुनुले समग्र वायुको गुणस्तर मापदण्डभन्दा कम भएको पाइएको छ । वायु प्रदूषणको हिसाबले पार्टीकुलर म्याटर (पीएम) २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिक्युबिक मिटरसम्मलाई गुणस्तरीय वायु मानिन्छ ।

याे समाचार राजधानी दैनिकबाट लिईएकाे हाे ।

वातावरण विभागको वायु गुणस्तर अनुगमनबाट सबैभन्दा बढी प्रदूषित सहरका रूपमा नेपालगन्ज देखिएको छ । शुक्रबार साँझ गरिएको मापनअनुसार नेपालगन्जमा पीएम २.५ को मात्रा १८४ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको छ । मुलुकको १७ स्थानमा वायुको गुणस्तर मापन केन्द्र स्थापना गरी सुरु गरिएको मापन केन्द्रहरूमध्ये ४ केन्द्रले काम गर्न छाडेका छन् । शुक्रबार मापन गरिएका १३ स्टेसनमध्ये ३ स्टेसनमा मात्रै गुणस्तरीय वायु रहेको मापन गरिएको छ ।
प्रदूषणको हिसाबले दोस्रो उच्च प्रदूषण रहेको क्षेत्रका रूपमा सुनसरीको झुम्का क्षेत्र रहेको छ । जहाँ शुक्रबार पीएम २.५ को मात्रा १४६ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको छ ।

यस्तै, तेस्रो उच्च प्रदूषित सहरमा सिमरा रहेको वायु प्रदूषण अनुगमन शाखाले जनाएको छ । शाखाका अनुसार शुक्रबार साँझ ७ बजे पीएम २.५ को मात्रा ९९ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ । यस्तै, काठमाडौंको कान्तिपथ क्षेत्र पनि उच्च प्रदूषित क्षेत्रका रूपमा देखिएको छ । कान्तिपथस्थित फोरा दरबारमा पीएम २.५ को मात्रा ६८ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो ।

यसैगरी, पोखरास्थित हावापानी कार्यालयमा स्थापना गरिएको स्टेसनमा शुक्रबार पीएम २.५ को मात्रा ५७ दशमलव ७ माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको छ । यसैगरी, काठमाडौंस्थित अमेरिकाको राजदूतावासमा स्थापना गरिएको मापन केन्द्रले पीएम २.५ को मात्रा ५५ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक प्रदूषण रहेको मापन गरिएको छ ।
प्रदूषणको मात्रा उच्च रहेको क्षेत्रमा चितवनको पर्यटकीय क्षेत्र सौराह रहेको पाइएको छ । यहाँ पीएम २.५ को मात्रा ५२ दशमलव ९ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको पाइएको छ । यस्तै, पोखरास्थित पोखरा विश्वविद्यायमा राखिएको मापन केन्द्रले सो क्षेत्र पनि उच्च प्रदूषणमा रहेको देखिएको छ । सो क्षेत्रमा पीएम २.५ को मात्रा ५१ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको थियो ।

यसैगरी, विगतका दिनमा अत्यधिक प्रदूषित क्षेत्रका रूपमा मापन हुँदै आएको रत्नपार्क क्षेत्र शुक्रबार पनि प्रदूषणको उच्च जोखिमको सूचीमा नवौं स्थानमा देखिएको छ । सो क्षेत्रमा शुक्रबार साँझ ४८ दशमलव ७ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको छ । यसैगरी, प्रदूषणका हिसाबले १०औं जोखिम स्थानका रूपमा दाङ रहेको पाइएको छ । शुक्रबार दाङमा पीएम २.५ को मात्रा ४५ दशमलव ९ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको मापन गरिएको छ ।
शुक्रबार मापन गरिएको केन्द्रहरूमा गुणस्तरीय वायु रहेका तीन स्टेसनमध्ये ललितपुरको पुल्चोकमा रहेको केन्द्रमा पीएम २.५ को मात्रा ३९ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको पाइएको छ । यस्तै, पोखराको गण्डकी बोर्डिङ स्कुलमा स्थापना गरिएको स्टेसनले पीएम २.५ को मात्रा ३९ दशमलव २ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको पाइएको छ । यसैगरी, ललितपुरको भैंसेपाटीमा स्थापना गरिएको मापन केन्द्रमा पीएम २.५ को मात्रा २६ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर मापन गरिएको छ ।

वातावरण विभागले स्थापना गरेका भक्तपुरको वीरेन्द्र स्कुलको स्टेसन, काठमाडौंको शंखपार्कमा स्थापना गरिएको स्टेसन, काभ्रेको धुलिखेलमा स्थापाना गरिएको स्टेसन र रुपन्देहीको लुम्बिनीमा स्थापना गरिएका स्टेसन बिग्रिएकाले वायुको गुणस्तर मापन हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!